सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामि चुनाव माओवादीले हार्यो भने सविधान, गणतन्त्र र जनयुद्धको उपलब्धी हार्ने खतरा रहेकोे बताउनुभयो । नेकपा माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र र जनयुद्धका उपलब्धी बचाउन माओवादीले चुनाव जित्न जरुरी रहेको बताउनुभयो । “हामीले चुनाव हार्यौ भने संविधान हार्ने छ, गणतन्त्र हार्ने छ, जनयुद्धको उपलब्धी हार्ने खतरा छ शान्ति पक्रिया हार्ने छ । त्यसैले यो लडाइलाई हामीले जसरी भएपनि जित्नै पर्छ,” उहाँले भन्नुभयो ।
स्थानिय तहको निर्वाचन एउटा सामान्य औपचारिक निर्वाचन मात्र होइन, माओवादी जनयुद्ध, सात राजनितिक दल र नेकपा माओवादीबाट चलेको जनआन्दोलनका उपलब्धी रक्षा गर्ने अथवा त्यसलाई मर्न दिने भन्ने लडाई रहेको उहाँले बताउनुभयो । अबको दुई महिनामा आत्मसमिक्षा गर्दै प्रत्येक नागरिकको घर–घर पुग्न अध्यक्ष प्रचण्डले नेता तथा कार्यकतालाई आग्रह गर्नुभयो । आफ्नो तागतमा अब आउने निर्वाचन जित्ने, आफ्नै खुट्टामा उभिने संकल्प गर्नका लागि उहाँले अपिल गनुर््भयो । “अबको दुइ महिना आत्मसमिक्षा गर्दै जनताको घरघरमा जाउ, युद्ध स्तरमा काम गर्ने संकल्प गरौँ, सविधानको सरक्षा मात्र होइन समाजवादको आधार निर्माण गर्न सकिने छ ,” उहाँले भन्नुभयो, “शान्तिपूर्ण रुपले जनताको घरघर जाने टिम बनाउ, हामीले अहिले गोली चलाउनु छैन, बम पट्काउनु छैन, हाम्रो युवाहरुको टिमले गुण्डागर्दी, जालझेल, धाधली गर्नेको सातो खानु छ ।”

देशमा परिर्वतन ल्याउनेहरुले नै हार्नु परेको बताउँदै उहाँले परिर्वतनका विरोधीले जित्ने कस्तो लोकतान्त्रीक चुनाव रहेको भन्दै प्रश्न गर्नुभयो । उहाँले षड्यन्त्र र धाधली गरेरे चुनाव जित्न खोज्नेलाई परास्त गरेर छोड्ने चेतावनी दिनुभयो । उहाँले भन्नु भयो,“दुई महिना रातदिन खटिनुस, गुण्डागर्दी, धाधली, जालझेल गर्न कार्य रोक्न आजै बाट लाग्नुस तपाईहरुलाई लड्नका लागि केहि सहयोग चाहिएमा भन्नु, हेडक्वाटर तयारी छ । ”
जसरी हुन्छ अबको चुनाव माओवादीले जित्नुपर्ने उहाँको भनाइ छ । गठबन्धनको भर परेर ढुक्कसाथ घरमा नसुत्न उहाँले सम्पूर्ण नेता तथा कार्यकतालाई आग्रह गर्नुभयो । “हामी अब आफै एक्लै चुनाव जित्ने गरि लाग्नु पर्छ, राम्रो तयार गर्नुपर्छ र गठबन्धन हामीलाई खोज्दै आउने छ, हामी बलियो हुनजरुरी छ । हामीले रगत बगाइ ल्याएको परिर्वतनलाई हामीले नै रक्षा गर्ने हो ,” उहाँले भन्नुभयो ।
प्रचण्डले एमाले अध्यक्ष ओलीलाई परिवर्तन पाच्य नभएको पनि बताउनु भयो । “लोकतानत्रिक गणतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन चलिराखेको थियो । जनतिबेला हामी त्यो प्रक्रियामा अगाडि बढिरहेका थियौं । यो देशमा आफूलाई ठूलो पार्टी भन्ठान्ने केही नेताहरू नेपालामा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरुगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै हो भन्थे,’ उहाँले भन्नु भयो, “ती अहिले पनि गणतन्त्रको विरोधमा छन् । अहिले पनि गोरुगाडाको सिद्धान्तमा नै छन् ।”
संविधानको समावेशी र समानुपातिकता, दलित, महिला, मधेसी, आदिवासी जनजाति, उत्पीडित, मजदुर, किसानले मौलिक अधिकार पाएको तथा राज्यका निकायमा उनीहरूको प्रतिनिधित्व भएको नरुचाएकाहरूले मुलुकमा अस्थिरता ल्याउन खोजेको उहाँको भनाइ थियो । “उनीहरू संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन् । यो देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका छन्,” उहाँले भन्नु भयो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी र काँग्रेस लगायतका वामपन्थी एकजुट भएर अगाडि नबढ्ने हो भने कुनै पनि बेला देशमा दुर्घटना हुने खतरा रहेको उहाँले आशंका व्यक्त गर्नु भयो ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादी पार्टी अब देशकै ठूलो पार्टी बन्ने दाबी गर्नुभयो । “पार्टीमा एकता, छलफल र समहतिका आधारमा काम गर्ने र नेतृत्व गर्ने चलनको विकास भएको छ। अब जनयुद्ध र जनयुद्धपछि लोकतन्त्रको जस्तो हुँदैन । अब पार्टीमा एकढिक्का भएर आठौं महाधिवेशनले दिएका म्यान्डेटका आधारमा अघि बढ्छ । यसले पार्टीलाई नयाँ उचाईमा पु¥याउन मद्धत गर्छ,” उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले सिन्धुलीमा बहुमत स्थानिय तह माओवादी केन्द्रले जित्ने बताउनु भयो । उहाँले माओवादी केन्द्रले बहुमत स्थानिय तह जित्ने र अब हार्न छुट नरहेको बताउनुभयो । पुर्बको रोल्पाको संज्ञा दिदै अब गल्तीबाट सिक्दै फेरि माओवादी धार एक हुने विश्वास व्यक्त गर्नु भयो ।
नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय भवन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक नागरिकहरुको सहयोगदमा निर्माण भएको हो । चार तला रहेको भवन निर्माण तथा जग्गा खरिदका लागि झण्डै दुई करोड रुपैँया लगानी भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजन दाहालको भनाइ छ । पार्टी कार्यालय भवन उद्घाटन तथा अनेकोट घटनाका शहिदहरुको सम्झनामा आयोजित सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रममा शहिदहरुप्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।