सिन्धुली - नेपाली काँग्रेस सिन्धुलीको नवनिर्वाचित जिल्ला सभापति उज्वल पोखरेल (उपेन्द्र)ले राजनीति सेवा हो, जागिर हैन, एक राजनीतिकर्मीले बुुझ्नैपर्ने कुरा हो भन्ने बतउनु भएको छ । सिन्धुली सौगात संगको कुराकानीमा उहाँले स्थानीय तहको पहिलो कार्यकालको समीक्षा गर्दा केहि विकास निर्माणका काम भएपनि जनताले गाउँगाउँमा सिंहदरबार आएको अनुभूत गरेको देखिन्न र जिल्लामा स्थानिय सरकारको समग्र विकास योजना बिनाको देखिएको बताउनु भयो । योजना नबनाइ गरेका कामले दिर्घकालिनमा राम्रो परिणाम आउन नसकेकोउहाँको भनाई छ ।
उहाँले जनताको प्रतिनिधि भन्दा पार्टिको प्रतिनिधि भएको देखियो तर जनताले अपेक्षा विकास निर्माणको गरेका थिए तर जनप्रतिनिधिबाट भष्ट्रचार, वेथिति र राजनितिकरण भएको बताउनु भयो । “चुनावी मैदानमा जादाँ जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न नसकेको र संघीयता कार्यान्वयनपछि विकाससँगै चरम भ्रष्टाचार बढेको जगजाहेरै छ”उहाँले भन्नु भयो “ गाउँगाउँमा सिंहदरबार झल्काउने खालको विकास गर्ने, स्थानीय स्रोतसाधनको परिचालन गरी आन्तरिक आयमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आयात रोक्ने, निर्यात बढाउने– संघीयताका मर्म यिनै हुन् ।”
तर विडम्बना, बितेको चार वर्षमा विकासभन्दा बढी अनियमितता छ, भ्रष्टाचार छ । जनताका आवश्यकतामुखी भन्दा पनि कार्यकर्तामुखी टुक्रे योजना बढी बनाउने, उपभोक्ताका नाममा डोजर आतंक मच्चाउने, योजनाको कमिसनमै रमाउने नेतृत्वले अपेक्षित विकास गर्नै सकेन । स्थानिय सरकारको विकास निर्माण भनेको डोजर जताजतै बाटो खन्ने देखियो । लक्ष, योजना बिना गरिका कामबाट दिगो विकास नदेखिएको बताउनु भयो ।
“पहिलो जनप्रतिनिधिको कार्यकालको राम्रो काम भनेको केही ऐन–कानुन बनाएका छन्, जसले भोलि आउने जनप्रतिनिधिलाई काम गर्न सजिलो हुनेछ । तर, भ्रष्टाचार रोक्ने संयन्त्र भने निर्माण गरेका छैनन् । नागरिक उपभोक्तालाई पनि थोरै केही दिएपछि छिटो–छरितो काम हुन्छ भन्ने छाप पारेका छन् । त्यसैले अब आउने नेतृत्वले नागरिकका यस्ता भ्रम चिर्न, भ्रष्टाचार रोक्न, सुशासन, पारदर्शिता कायम गर्न र जनताको सेवामा समर्पित हुने सक्षम व्यक्ति आउनुपर्छ । टुक्रे योजनाले पूर्वाधार विकासमा कुनै उपलब्धि देखिन्न, जनप्रतिनिधिदेखि टाठाबाठाकै खल्ती भरिन्छ,” उहाँले भन्नु भयो ।”
“त्यसैले जनहितका कार्यक्रममा जोड दिने र गौरवका विशेष योजना निर्माण गरी भ्रष्टाचार रोक्न संयन्त्र खडा गर्न सक्ने खालको व्यक्तिलाई चुन्नुपर्ने स्थिति छ । अब आउने नेतृत्व व्यक्ति, पार्टी होइन योजना हेरेर मत दिनुपर्दछ । पहिलो जनप्रतिनिधिले योजना बिना गरेका कामले दिगो विकास नभएको कारण अब आउने जनप्रतिनिधिको योजना हेरेर मात्र मत दिनुपर्ने छ । नयाँ मेयरदेखि अन्य पदका आकांक्षी जनप्रतिनिधिले पनि विगतका कुन काम सफल भए, कस्ता योजना सफल भए, कस्ता योजना अघि सार्दा सफल हुँदा रहेछन् भन्ने विषयमा गहन रूपमा छलफल परामर्श गर्न आवश्यक छ । जसले गर्दा दोस्रो कार्यकालका जनप्रतिनिधि पनि जनताको सेवाभन्दा आफ्नो स्वार्थमै सीमित भएर गए भन्ने नागरिकको गुनासो नआओस्, नागरिकमा अझै शिक्षा, चेतनाको कमीले समृद्ध समाज निर्माण हुन सकेको छैन ”उहाँकोभनाई छ ।
धनी झनै धनी र गरिब झन् गरिब हुन स्थिति छ । त्यसैले अबको नेतृत्व भनेको विकासमा समान सहभागिताको सुनिश्चितता गर्ने, आयआर्जनमूलक कार्यक्रममा केन्द्रित हुने, जनताको जनभावनाअनुसार काम गर्ने र स्थानीय तहको स्रोत परिचालन गरी आन्तरिक आय वृद्धिमा जोड दिने सक्षम व्यक्ति आउनुपर्छ भन्नेपोखरेलकोजोड छ ।