बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा स्थानीय तह निर्वाचनमा भावी उम्मेदवारको चर्चा

बुधवार , फाल्गुण २५, २०७८

सिन्धुली– सिन्धुलीमा राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् ।

राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ । प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् । उनीहरूले जनसम्पर्क विस्तार, संगठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् । यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको जिल्लामा कमलामाई नगरपालिकाको निर्वाचन भने निकै पेचिलो बन्ने देखिएको छ । सो नगरपालिकाको प्रमुखमा काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिए पनि निर्वाचनका लागि सम्भावित गठबन्धनका लागिसमेत पहल सुरु भएको बताइएको छ ।

जिल्लाका सम्पूर्ण राजनीतिक दल अहिले संगठन विस्तार तथा सुदृढीकरण अभियानमा गाउँ पसेका छन् । पार्टी प्रवेश गराउने, सदस्यता वितरण गर्ने, संगठन विस्तार गर्ने क्रम तीव्ररूपमा चलेको छ । यसैगरी केही युवाहरूले आफ्नो भाबी कार्ययोजनासहित स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् ।निर्वाचनमा आफूहरूको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता–कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तीव्रता पाएका छन् भने अर्काेतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भीड लाग्न सुरु भएको छ ।

स्थानियहरु यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने विचार व्यक्त गर्न थालेका छन् । कतिपय व्यक्तिले त नामै तोकेर अबको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई आग्रहसमेत गरेका छन् । कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुनसक्ने नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ ।

जिल्लामा सक्रिय राजनीतिक पार्टी बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्रभित्र यी पार्टीका नेता कार्यकर्तामा महत्वकांक्षा र गुटगत स्वार्थ भने रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन् । समग्रमा पार्टीभित्र यसअघि देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारण स्थानीय निर्वाचनमा यसको असर टड्कारोरूपमा देखिन सक्ने नेताको अनुमान छ । यसपटक राजनीतिमा युवाहरूको विशेष आकर्षण देखिएको छ ।

प्रतिक्रिया