सिन्धुली – सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले पनि तयारी तीव्र बनाएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन् । नौ स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी अस्तित्वमा छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले वडा तथा पालिका स्तरिय बैठक साथै संगठन विस्तारको कामलाई अगाडि बढाएको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)का अनुसार एमालले जिल्लाका नौँ वटै स्थानिय तहका वडा तथा टोलमा संगठन विस्तारको कार्य गरिरहेको छ । एमालेले छिटै नै चुनावी रणनीति तय गर्ने तयारी गरेको उहाँले बताउनुभयो । एमालेले विसं २०७४ मा भएको निर्वाचनमा जिल्लाका तिन स्थानीय तहमा जित हात पारेको थियो ।
सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले जिल्ला अधिवेशन सकेर चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरेको छ । चुनावलक्षित विभिन्न कार्यक्रम संचालन गर्ने तयारी रहेको काँग्रेस सिन्धुलीले जनाएको छ । अघिल्लो निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये तिनवटामा काँग्रेसले जितेको थियो । अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न काँग्रेस लागिपरेको काँगेस जिल्ला सभापति उपेन्द्र पोखरेलले बताउनुभयो । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी तयारी थालेको छ । अघिल्लो निर्वाचनमा तिन स्थानीय तहमा जित हात पारेको माओवादी केन्द्रका केन्द्रीय नेता गाउँ पसेका छन् ।
माओवादी केन्द्रीय जिल्ला इन्चार्ज तथा बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन) लगाएत केन्द्रीय नेता दौडधुपमा छन् । सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी संगठन निर्माण तथा चुनावी अभियानमा लागिएको प्रदेशसभा सदस्य तथा जिल्ला इन्चार्ज दाहालले बताउनुभयो । माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा संगठन विस्तारसँगै जनवर्गीय संगठन पुनःगठन गरेको छ । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक स्थानीय तहमा वाइसीएल नेपालको पालिकास्तरीय समिति बनाइएको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ ।
एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि निर्वाचनलाई लक्षित गरेर संगठन विस्तारमा जुटेको छ । आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरू दलसँग मिलेर चुनाव लड्ने योजना रहेको जनाइएको छ ।
एकीकृत समाजवादीले जिल्लाका नौ स्थानीय तहमा पालिकास्तरीय संगठन तथा कार्यालय स्थापना गरिरहेको छ । जनता समाजवादी पार्टी पनि संगठन विस्तारमा जुटेको छ । देशमा चौथो दलको अस्तित्वमा रहेको जनता समाजवादी पार्टी जिल्लामा चुनावी तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी भइरहेको जनाएको छ ।
स्थानिय तहका जनप्रतिनिधि पनि चुनावी कार्यक्रममा लागि परेका छन् । मरिण गाउँपालिकामा प्रत्येक वडामा संगठन विस्तार देखि विभिन्न चुनावी कार्यक्रम भइरहेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । वडा देखि पालिका स्तरमा चुनावी कार्यक्रम भइरहेको छ ।