सिन्धुली– स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै सिन्धुलीमा राजनीतिक दलका गतिविधि सुरु भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो ।
सत्तारुढ दल नेपाली काँग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १५ गते जिल्ला अधिवेशनको तयारीमा रहेको छ । अधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय तह निर्वाचनमा आफ्नो दल होमिने कार्यवाहक नेपाली काँग्रेसका नेता बताउँछन् । नेकपा (एमाले)ले टोल कमिटि लगाएत विभिन्न कार्यक्रममा लागेको छ । गाउँगाउँ साथै बस्तिमा पुगि एमाले टोल कमिटि गर्न व्यस्थ रहेको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी गतिविधि तीव्र बढाएका छन् । अहिले जिल्लाका विभिन्न ठाउँमा एकैदिन कतिपय दलका कार्यक्रम सम्पन्न हुँदा छन् । यीबाहेक जनमत पार्टी पनि सभा, बैठक र स्थानीय पार्टी समितिहरूको गठन, पुनःगठनमा जुटेको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले तत्सम्बन्धी तयारी अघि बढाउँदै लगेको हुँदा अहिले दलीय गतिविधि सुरु हुँदै गएका हुन् । यद्यपि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्ना काम निर्वाचन केन्द्रितभन्दा जनसरोकारका विषयको पहिचान र ती मुद्दाको उठान रहेको स्पष्ट पारेको छ ।