बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एमसीसी बारेमा सिन्धुलीका दुई गजुरेलको दुई धारणा

शनिवार , माघ २९, २०७८

सिन्धुली– सिन्धुलीका कम्युनिष्ट केन्द्रय नेता दुई गजुरेलले एमसीसी बारेमा आ–आफ्नो धारणा राख्नु भएको छ । शुक्रवार सिन्धुलीमा आयोजित छुट्टा–छुट्टै कार्यक्रममा सिन्धुली क्षेत्र नं.२ बाट निर्वाचित पुर्व संबिधान सभा सदस्य एवं नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल र सिन्धुली क्षेत्र नं.२ का संघिय सांसद एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भिन्न बिचार ब्यक्त गर्नु भएको हो ।

सिन्धुलीमा शुक्रबार आयोजित पुनर्मिलन कार्यक्रममा बोल्दै सीपी गजुरेल ले एमसीसी पास भए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिनु भयो । एमसीसीलाई संसद्मा टेबल गरेपछि आउने परिणाम सरकारले थेग्न नसक्ने नेता गजुरेलको भनाइ थियो ।

नेता गजुरेलले एमसीसी पास भए संसदीय व्यवस्थाविरुद्ध जनता उर्लिने पनि चेतावनी दिनु भयो । यो व्यवस्थाका विरुद्धमा जनता उत्रिए संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था मान्नेहरुलाई घाटा हुने भएकाले एमसीसी खारेज गर्न उहाँको सुझाव थियो ।

“एमसीसी बहुमतका नाममा पास भएमा हुने आन्दोलनलाई सरकारले थेग्न नसक्ने भएकाले गलत तत्वले फाइदा लिन खोज्दा प्रतिगमनको खतरा हुन्छ”, नेता गजुरेलले भन्नु भयो, “एमसीसीलाई संसद्को टेबलमा नलगियोस, कार्यसूचीमा नराखियोस् ।”

माओवादी केन्द्रका नेतासँग भएको कुराकानीको प्रसंग कोट्याउँदै नेता गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले तीन झमट एमसीसी टेबल खोजेकोमा गठबन्धनले नटेरेकाले रोकिएको बताउनु भयो । उहाँले भन्नु भयो, “चौथो पटक गठबन्धन जेसुकै होस् भनेर प्रधानमन्त्री एमसीसी पास गराउन लागेको सुनिएको छ । त्यसो हुँदा देश क्रिडास्थल, रणभूमि हुन्छ । सिरिया र अफगानिस्तान जस्तो हुन्छ ।”

यसैगरी शुक्रवारनै सिन्धुलीमा अनौपचारिक कुराकानीमा हरिबोल गजुरेलले नेपाल र अमेरिका दुवै अलिकति पछाडि हटेर एमसीसीमा सहमति बनाउनुपर्ने बताउनु भयो । “अमेरिकाले यथास्थितिमा पारित गर नत्र लैजान्छु भन्ने, हामीले पारित गर्दैनौं, हुँदै हुँदैन खारेज गर भन्ने हुँदा टसल भएकाले सहमतिमा पुग्न कठिन हुन्छ,”पुर्व मन्त्रिसमेत रहनु भएका गजुरेलले भन्नु भयो ।

एमसीसीको विषयमा नेपाल र अमेरिका दुवै पक्षले ’मेरो गोरुको बाह्रै टक्का’ गर्न नहुने उहाँको सुझाव थियो । तर अमेरिकाले एमसीसीमा भएका बुँदा थोरै परिमार्जन गर्न पनि तयार नभएकाले समस्या भएको सांसद गजुरेलको भनाइ थियो । सरकारमा भएका दलहरूसँग सहमति बेगर एमसीसी टेबल भएमा अर्को जटिलता निम्तिने भन्दै सांसद गजुरेलले गठबन्धन दल र अन्य दलबीच सहमति हुनुपर्ने बताउनु भयो ।

“कसरी संसदमा टेबल कसरी गर्ने भनेर गठनबन्धन, प्रतिपक्ष र अन्य दलहरूसँग सहमति हुनुपर्छ,” उहाँले भन्नु भयो । एमसीसी पास गर नभए सबै सहयोग रोक्छौं भनेर नेपाललाई चेतावनी दिँदा अमेरिका आफैं अप्ठेरोमा पर्ने सांसद गजुरेलको जिकिर थियो । नेपाल जस्तो सानो मुलुकसँग निहुँ खोजेर अमेरिकाले कुनै बहादुरी नकमाउने भएकाले थोरै परिमार्जन गर्न केही पछाडि हट्नु पर्नेमा गजुरेलले सुझाव दिनु भयो ।

एमसीसीमा उल्झन आउनुमा दुई वटा प्रमुख कारण रहेको सांसद गजुरेलले औंल्याउनु भयो । संसद्बाट पास हुनुपर्ने शर्त र एमसीसी इन्डो प्यासिफिकको अंग भएको कुराले जटिलता निम्त्याएको उहाँको भनाइ छ । यद्यपि एमसीसीका कारण गठनबन्धन नटुट्ने सांसद गजुरेलले ठोकुवा गर्नु भयो ।

प्रतिक्रिया