सिन्धुली – सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै सिन्धुलीका जनप्रतिनिधि उत्साहित देखिएका छन् ।
सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधि विहीन नहुने कमलामाई नगरपालिकाका प्रमुख खडगबहादुर खत्रीले बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधि सँगै राजनीतिक दल र आमजनतामा समेत नयाँ उत्साह आउनु पर्ने उल्लेख गर्नुभयो । गत माघ ८ गते नगरप्रमुख खत्रीले समयमा निर्वाचन हुनुपर्ने माग सहित प्रेस विज्ञप्ती जारी समेत गर्नुभएको थियो ।
उहाँले जनताले आफ्नो अधिकार संविधानले मुल मर्म अनुसार नै प्रयोग गर्ने गरि नै समय मै स्थानिय तहको निर्वाचन गराने बातावरण बनाउन निर्वाचन आयोग, केन्द्रिय सरकार, आम जनसमुदाय, अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगाएत सम्पूर्णलाई विज्ञप्ती मार्फत अपिल गर्नुभएको छ । मेयर खत्री भन्नुभएको थियो, “लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । स्थानिय सरकार भनेको प्रत्यक्ष जनताका काम सँग जोडिने सबैभन्दा आधारभुत तहको सरकार हो । स्थानिय सरकार खाली राख्ने परिकल्पना नेपालको संविधान ०७२ ले गरेको छैन । स्थानिय तह खालि राख्नु भनेको संविधानको मुल मर्म जन अधिकार माथिकै प्रहार हो, त्यसैले समयमा निर्वाचन हुनुपर्छ ।”
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुरथापा मगरले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालन गर्दै आएका जनप्रतिनिधिलाई निर्वाचनको घोषणाले खुसी तुल्याएको बताउनुभयो ।
जनतामाझ जानु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गर्दै अब वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले विगतको कामको मूल्यांकन गरी आफ्नो मत जाहेर गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको उहाँले बताउनुभयो ।
गोलान्जो गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले अब नयाँ जनमतको लागि जनप्रतिनिधि तयार रहनु पर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन घोषणाले मुलुकलाई लोकतान्त्रिक विधिमा हिँडाउँदै संविधानको रक्षा गर्नमा सहयोग पुगेको उहाँको भनाइ छ ।
निर्वाचनको घोषणासँगै सिन्धुलीका नौवटै स्थानीय तह र ७९ वटै वडामा राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । स्थानीय तह निर्वाचनको घोषणासँगै वडा तथा टोलटोलमा पार्टीको संगठन सुदृढीकरण अभियान सञ्चालन सुरु गर्न लागिएको नेकपा एमालेका सिन्धुलीका अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)ले बताउनुभयो ।