सिन्धुली – नेकपा एमाले निकट अनेरास्ववियु सिन्धुलीले स्थानिय तहको चुनाव समयमा हुनुपर्ने माग गर्दै सिन्धुलीमाढीका क्याम्पस गेटमा कालो ब्यानर राखेर विरोध गरेका छन् । सोमबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीले सिन्धुलीमाडी स्थित सिन्धुली बहुमुखी क्याम्पस, सिद्दज्योती शिक्षा क्याम्पस र गौमती बहुमुखी क्याम्पसको गेटमा ब्यानर विरोध गरेका हुन् । “स्थानीय तहको निर्वाचन तत्काल गर, संबिधान र लोकतन्त्रको रक्षा गर”भन्ने नाराका साथमा कालो ब्यानर राखिएको अनेरास्ववियुका सिन्धुली जिल्ला सहसचिव, सुनकोशी गाउपालिका र सिन्धुली बहुमुखी क्याम्पस इन्चार्ज तथा सिन्धुली बहुमुखी क्याम्पस कमिटी संयोजक लोकेन्द्र बोगटीले बताउनुभयो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हुदै छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनु भन्दा दुई महिना अगाडि हुने व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन ऐनको दफा ४ (४) ले थप अलग–अलग मितिमा निर्वाचन भएकोमा समेत पहिलो पटक तोकिएको मितिलाई निर्वाचन मिति मानिने व्यवस्था गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिएपछि संघ र प्रदेश सरकारले समेत समयावधि थप गर्न नसक्ने र कर्मचारीहरुले मात्र नगरपालिका र गाउँपालिका सञ्चाल गर्न नसक्ने अवस्था रहेकोतर्फ अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको छ ।