सिन्धुली– नेपाली काँग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । वरीयतामा सिन्धुलीका श्यामकुमार घिमिरे ४३ र सुशिला थिङ १२७ औँ नम्बरमा पर्नुभएको छ । घिमिरे खस आर्य र थिङ आदिवासी जनजाती महिलाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै, सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन् । काँग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । दोश्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन् ।
महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उहाँको पछाडि हुनुहुन्छ । ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि हुनुहुन्छ ।
काँग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो । सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ । १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना हुनुहुन्छ ।
यीमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्नुभएको हो । काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोश्रो बढी मत ल्याउने व्यक्ति स्वतः कार्यसमिति सदस्य हुन्छ । काँग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो । बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।