सिन्धुली–नेकपा( एकिकृत समाजवादी) पार्टी सिन्धुलीले विभिन्न सचेतनामुलक सन्देश लेखिएको स्टीकर वितरण अभियान सुरु गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार विभिन्न सचेतनामुलक सन्देश लेखिएको स्टीकर वितरण सुरु गरेको नेकपा (एकिकृत समाजवादी) पार्टीले जनाएको छ ।
पार्टीले ‘हामी जातपातमा विश्वास गर्दैनौं । हाम्रो घरमा सबै जातजातीका मानिसलाई प्रवेश खुला छ’ । ‘मानिस बोक्सो वा बोक्सी हुदैन, बोक्सो वा बोक्सी हुन्छ भन्नु अन्धविश्वास हो । कसैलाई पनि बोक्सो वा बोक्सी भनेर आरोप लगाउनु सामाजिक साँस्कृतिक र कानुनी अपराध हो’ । ‘हरेक क्षेत्रमा महिलाको सुरक्षा र सम्मान गरौं । महिला हिँसा बन्द गरौं’ ।
‘अपांगत भएका नागरिकलाई प्राथमिकताका साथ अवसर दिने र सहयोग गर्ने गरौं’ । ‘नातावाद–कृपावाद र भ्रष्टाचार नेपालका राष्ट्रिय रोग हुन । यिनलाई जरैदेखि उन्मुलन गरौं । संघिय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ । लगाएतका सचेतनामुलक सन्देश लेखिएको स्टीकर टास्ने तथा वितरण गरेको हो ।


पार्टीको कार्यक्रम अनुसार सचेतनामुलक सन्देश लेखिएको स्टीकर सार्वजनिक स्थल, चोक, चौतारा, सार्वजनिक तथा निजी सवारी साधन, जिल्लाको सदरमुकाम लगाएत अन्य बजारका पसलहरुमा सबैले देखिने गरी टास्नुका साथै वितरण गरेको हो । विभिन्न ठाउँमा स्टीकर टास्नुका साथै जिल्लाका नौ वटै स्थानिय तहका नागरिकको घर घरमा पुगेर स्टीकर वितरण गर्ने एकिकृत समाजवादी पार्टी सिन्धुलीका अध्यक्ष सुर्य पाख्रिनले जानकारी दिनुभयो ।
नेकपा एकिकृत समावादी पार्टी सामाजिक आन्दोलन र साँस्कृतिक क्रान्तिमा लागेछ भन्ने जनतालाई महसुस गराउन स्टीकर वितरण सुरु गरेको अध्यक्ष पाख्रिनले बताउनुभयो । ‘सामाजिक विकृति, विसंगतीलाई अन्त्य गर्न, भ्रष्टचारलाई उन्मुलन गर्ने अभियान हो ।
सबै घरघरमा गएर वितरण गर्ने स्टीकर जनताले पढ्ने छन् र नेकपा एकिकृत समाजवादी चै सामाजिक आन्दोलनमा लागेछ । साँस्कृतिक क्रान्तिमा लागेछ भन्ने जनताले बुझ्नेछन’ अध्यक्ष पाख्रिनले भने