शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

चेक चोर्नेसँग मिलेर सिन्धुलीका बराललाई फसाउन खोज्दा एसएसपी सिंह आफैँ फसे

मंगलवार , पौष १३, २०७८

काठमाडाैं ,१३पुस -#चेक चोर्नेसँग मिलेर सिन्धुलीका बराललाई फसाउन खोज्दा एसएसपी सिंह आफैँ फसेमहानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख रहँदा गैरव्यावसायिक काम गरेको भन्दै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको छ । बिजुलीबजारका राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए । गृहले त्यसै निवेदनको आधारमा पुस ९ गते कारवाही गर्न सिफारिस गरेको हो । यससम्बन्धी समिति गठन गरेर अनुसन्धान थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लोकान्तर डटकममा खवर छ ।

‘गृहले पत्र पठाएबमोजिम गल्ती भएको हो/होइन त्यसको आवश्यक अनुसन्धान अगाडि बढेको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने, ‘के कसरी भन्दा पनि कारवाहीको प्रक्रिया अगाडि बढेको छ ।’ प्रहरी प्रधान कार्यालयले केही दिन अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

के हो घटना ?

असोज २२ गते आरुबारीका सुभाष भेटवाललगायत पीडित भनिएका राजकुमार बराल नयाँ बानेश्वरस्थित एक कार्यालयमा मदिरा पिउँदै जुवा खेलिरहेका थिए । सो क्रममा बरालले बोकेको बैंक अफ काठमाडौं कमलादी शाखाको चेकको ७–८ वटा पाना हरायो ।

चेकका पाना हराएको भने उनले भोलिपल्ट मात्रै थाहा पाए । त्यसपछि उनले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा चेक हराएको उजुरी दिए ।

वृत्त बानेश्वरले चेक नभेटिएको जानकारी उनलाई गरायो । तर, महानगरीय प्रहरी परिसर टेकुले भने उनलाई बोलायो । तर, त्यहाँ हराएको भनिएको ७ वटा चेक (असोज २२ गते र केही चेक त्यसपछिको मितिमा काटिएको) सुभाष भेटवालले ल्याएर आए ।

सो चेकहरूमा दुई करोड २९ लाख रकम भरिएको थियो । भेटवालले बरालले आफूलाई जुवा खेल्दा खाली चेक दिएको र रकम भरेको प्रहरीसामु बताए ।

असोज २५ गते एसएसपी सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष भेटवालले चेकहरू दाखिला गरेको बरालले गृह मन्त्रालयमा दिएको निवेदनमा उल्लेख छ ।

‘डीएसपी सावले परीक्षणका लागि मेरो हस्ताक्षर लिएर पछि बोलाउँला, अहिले जानु भनेकाले म घर फर्कें,’ निवेदनमा लेखिएको छ, ‘हामीले तास खेलेको सीसीटीभी फुटेज, घटनास्थल मुचुल्कालगायतका प्रमाणसमेत संकलन गरिसकेका छौं भनी मुद्दा शाखाका डीएसपी सावले भन्नु भएको थियो ।’

बरालको निवेदनअनुसार भेटवाल परिसर टेकुमा आएपछि आफूलाई एसएसपी सिंहले अश्लील गालीगलौज र धम्की दिँदै तुरुन्त पैसा तिर्न भनेका थिए ।

‘अश्लील गालीगलौज र धम्की दिँदै पैसा तुरुन्त तिर होइन भने तँ व्यवसाय गर्ने मान्छे भएकाले तेरो कमीकमजोरी धेरै हुन्छन्, तलाई कुनै केसमा फसाई दिन्छु भनी धम्की दिन थाल्नुभयो,’ उनले आरोप लगाएका छन् ।

उनले आफूलाई केही घण्टा हिरासतमा लिएर थुनामासमेत राखिएको बताएका छन् । एसएसपी सिंहले सरुवा भएर जाने अन्तिम दिन पुस २ गते सुभास भेटवाललाई ७ वटा चेक फिर्ता दिएर गएको र त्यो कुरा आफूले पुस ६ गते चेक बाउन्स भएकाले थाहा भएको बताएका छन् । उनलाई चेक बाउन्स भएको बैंकले जानकारी दिएको थियो ।

उनले एसएसपी सिंहले आफूसँग छलफलसमेत नगरी रमाना बुझ्ने दिन भेटवाललाई बोलाएर सुटुक्क चेक दिने कार्य गर्नुपर्नेले बदनियत प्रमाणित भएको भन्दै यस विषयमा विशेष अनुसन्धान टोली गठन गरी छानबिन गर्न र भेटवाललाई कारवाही गर्न भन्दै गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।

लोकान्तर डटकमबाट साभार

प्रतिक्रिया