सिन्धुली – सिन्धुलीमा स्वास्थ्य संस्थामा सुत्केरी हुने बढेका छन् । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै जिल्लाका ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुने बढेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार जिल्लामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकाले घरमै सुत्केरी गराउने दरमा कमी आएको छ ।
घरमा सुत्केरी गराउँदा रक्तस्राव धेरै हुने, साल फुक्न नसक्नेलगायतका समस्या आउने साथै अहिले स्वास्थ्य संस्थामा दक्षस्वास्थ्यकर्मीद्वारा सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको प्रमुख शाहले बताउनुभयो । “गर्भावस्था र सुत्केरी अवस्थाका बारेमा नागरिक जागरुक बन्दै जानु र सरकारले पनि प्रोत्साहनको व्यवस्थापन गरेकाले यहाँका महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् ,” उहाँले भन्नुभयो । नियमित गर्भजाँच गर्नेदेखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको उहाँको भनाइ छ । स्थानीयसरकारले पनि सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत पोषण सुधारका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ हजार १८ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये २ हजार ८ सय ११ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन् । २ सय ७ जनाले सामान्य रुपमा प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा ९ सय ७ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये ८ सय ७९ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट र २८ जनाले सामान्य रुपमा सुरक्षित प्रसूति सेवा लिएका छन् । जिल्लामा ३२ बर्थिङ सेन्टर, एउटा जिल्ला अस्पताल र स्वास्थ्य संस्था कति छन् भन्ने तथ्यांक भने नरहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि पछिल्लो स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भइरहेको कमलामाई नगरपालिका ९ भिमान स्वास्थ्य चौकिकी अनमि मिरा गुरुङले बताउनुभयो ।
सुरक्षित प्रसूति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थामै गएर तालिम प्राप्त दक्षजनशक्तिबाट प्रसूति सेवा लिन थालेपछि अहिले मातृ तथा बाल मृत्युदरमा कमि आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।