बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

छठ मनाउन गाउँ फर्कंदै गर्दा भीमफेदीमा दुर्घटना, १० जनाको ज्यान गयो

बिहिवार , कार्तिक २६, २०८३

हेटौडा,२६ कात्तिक – छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किरहेका यात्रु बोकेको विद्युतीय गाडी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का मुकेश यादवका अनुसार उनीहरू दुई वटा गाडी रिजर्भ गरेर गाउँ फर्कंदै थिए । पहिलो गाडी दुर्घटनामा परेको र पछाडि रहेको अर्को गाडीमा सवार यात्रुहरूले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । दुर्घटनामा परेका सबै फलफूल व्यापारीका परिवार रहेको बताइएको छ ।

हेटौँडा अस्पतालमा उपचाररत ३३ वर्षीय यादवका अनुसार उनीहरू ललितपुरको टिकाथलीबाट छठ मनाउन सर्लाही जान राति करिब २ बजे विद्युतीय गाडी लिएर हिँडेका थिए । गाडीमा सवार अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त थिए । आफू पनि गाउँका छिमेकीहरूसँगै यात्रा गरिरहेको र आफ्नै परिवारका सदस्य भने गाडीमा नरहेको उनले बताए ।

दुर्घटनामा घाइते भएका तीन पुरुष र दुई बालकको उद्धार गरिएको थियो। घाइतेमध्ये तीन जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । अस्पतालमा उपचाररत अन्य घाइतेमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन् ।

मुकेशको टाउको र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । सक्षमको शरीरमा भित्री चोट लागेको भए पनि अवस्था सामान्य छ । सुदनको टाउको र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो ।

प्रतिक्रिया