सिन्धुली – सिन्धुलीमा प्रहरीले सवारी ज्यान र डाँका मुद्धाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा उच्च अदालत पाटनले दुई वर्ष सात महिना कैद सजाय तोकेको तर फरार रहेका श्याम बहादुर भन्ने खेम बहादुर हमाललार्ई ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरीसँग समन्वय गरि नवलपरासीको हात्तिसारचोक स्थितमा लुकीछिपि बसेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक डिएसपि मनोज कुमार लामाले बताउनुभयो ।
हमाललाई सवारी ज्यान मुद्दामा उच्च अदालत पाटनले ०७३ माघ ११ गते दुई वर्ष सात महिना कैद सजाय तोकेको थियो । प्रतिबादी हमाललाई अड्डासार हदै बिहिबार फैसला कार्यान्वयनको लागी सिन्धुली जिल्ला अदालतमा पेश गरिएको डिएसपि लामाले बताउनुभयो ।
यस्तै,डाँका मुद्धामा पक्राउ पुर्जी जारी भइसकेको तर फरार रहेका मरिण गाउँपालिका ७ का १८ वर्षिय संजय वि.क लाई प्रहरीले पक्राउ गरेको छ । वि.क लाई जिल्ला अदालत सिन्धुलीको डाँका मुद्धामा ०७८ असार २२ गतेको फैसलाले पक्राउ पुर्जि जारी गरेको थियो ।