सिन्धुली – सिन्धुलीमा स्वच्छ खानेपानी नपाएको उपभोक्ताले गुनासो गरेका छन् । सिद्धेश्वर खानेपानी उपभोक्ता समुहले वितरण गरिरहेको खानेपानी स्वच्छ नभएको उपभोक्ताले गुनासो गरेका हुन् ।
संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचको हक हुने छ भनी उल्लेख गरिएको छ । तर, सिन्धुलीमाढीका उपभोक्ताहरूको दुई साता देखि स्वच्छ खानेपानी नपाएको गुनासो छ । सिद्धेश्वर खानेपानीले वितरण गरेको खानेपानी हिलो सहितको आउने गरेको कमलामाई नगरपालिका ५ मधुटारकी स्थानिय अन्जना पुलामी बताउनुभयो । शुद्धिकरण गरेको खानेपानी नै हिलोसहितको आउने गरेको उहाँले गुनासो गर्नुभयो । “पानी शुद्धिकरण गरेको भन्छन् । पुरै लेदोसहितको हिलो पानी आइरहेको छ । यस्तो प्रदुषित पानी कसरी पिउँने ?” उहाँले भन्नुभयो । कपडा धुनसमेत प्रयोग गर्न नमिल्ने लेदोसहितको पानी आएको उहाँले बताउनुभयो । “सबै लेदोसहितको पानी छ, कपडा धुन त मिल्दैन । त्यो पानी खाने कसरी ? दुइ हप्ता भइसक्यो यस्तो पानी आउन थालेको ,” उहाँले भन्नुभयो ।
कमलामाई नगरपालिका ६ दुई नम्बर बजारकी सबिना कार्की पनि प्रदुषित पानी पिउँन बाध्य भएको बताउनुहुन्छ । शिदेश्वर खानेपानी तथा उपभोक्ता समितिको लार्पबाहिको कारण प्रदुषित पानी उपभोग गर्न बाध्य भएको उहाँले बताउनुभयो । समितिले पानी संकलन गर्ने ट्यांकीको सरसफाई नगर्ने तथा मुहानबाट पानी शुद्धिकरण नगरेको कारण हिलोसहितको पानी आउने गरेको उहाँको भनाइ छ । “पानीको ट्यांकी कहिले सफा गदैनन् । न पानी सुद्धिकरण छ । त्यहि भएपनि हिलोपानी आएको हो ,” उहाँले भन्नुभयो । हिलोपानी आउन थालेको दुई हप्ता भइसक्दा पनि समितिले चासो नदिएको उहाँले आरोप लगाउनु भएको छ । आफुहरुले बारम्बार समितिलाइ आग्रह गर्दा समेत वेवास्ता गरेको कार्की बताउनुु हुन्छ ।
यस्तै सस्तो मुल्यमा स्वच्छ खानेपानी पाइने आसमा सिद्धेश्वर खानेपानीको उपभोक्ता समितिको सदस्य –ग्राहक)बनेका कमलामाई नगरपालिका ६ धुराबजारका सुर्य थापा अहिले चर्को मुल्यको जारको पानी किनेर खानुपर्ने बाध्यता आएको बताउनुहुन्छ । सिद्धेश्वर खानेपानी उपभोतmा समुहले बितरण गरेको पानी प्रदुषित आउन थालेपछि उहाँ अहिले दैनिक चर्को मुल्यमा निजि कम्पनीको पानी उपभोग गर्न बाध्य भएको बताउँछन् । “दुई हप्ता देखि प्रदुषित पानी आइरहेको छ । त्यस्तो प्रदुषित पानी त खान मिलेन । चर्को मुल्य तिरेर जारको पानी खाइरहेको छु ,” थापाले भन्नुभयो ।
फोहोर पानीका कारण उपभोक्तामा पानीजन्य रोग समेत देखिन थालेको छ । पानीजन्य रोगका बिरामी जिल्ला अस्पताल सिन्धुलीमा धेरै आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उमेश प्रधानले बताउनुभयो । बजार र आसपासका धेरै बिरामी सामान्य रोगमा समेत उपचार गराउन अस्पताल आउने र उनीहरूमध्ये धेरैमा पेट दुख्ने, खाना अपच हुने, पखाला लाग्ने, जुका देखिनेजस्ता पानीजन्य रोग लाग्ने गरेको उहाँले बताउनुभयो । दैनिक अस्पतालमा आउने बिरामीमध्ये पानीजन्य रोगका बिरामी बढी आउने गरेको उहाँको भनाइ छ । बालबालिका र ज्येष्ठ नागरिकहरूमा पखाला लाग्ने, जुका पर्ने, पेट दुख्नेजस्ता समस्या देखिनु फोहोर पानीको कारण भएको उहाँले बताउनुभयो ।
यता सिद्धेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र देव श्रेष्ठ फिल्टर ट्याकीको क्षमता कम भएका र वर्षाको कारण धमिलो पानी जाने गरेको बताउनुभयो । “सिद्धेश्वर खानेपानीको मुख्य स्रोत ग्वाङखोला र गडौलीखोला छन् । ग्वाङखोला धेरै ठाडो खोला छैन साथै त्यहाँ राखिएको फिल्टर ट्यांकीले पनि शुद्धिकरण गरिरहेकाले त्यता तिरको पानी राम्रो छ । यता गडौलीखोला पनि ठाडो रहेको र दैनिक जसो खोलाको सिरमा पानी परेको छ । साथै फिल्टरले क्षमता भन्दा बढी पानी शुद्धिकरण गरेको कारण धमीलो पानी आएको हो , ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
गडौलीमा फिल्टर ट्यांकी बनाउने काम भइरहेको उहाँले बताउनुभयो । वर्षाको कारणले ट्यांकी बनाउने काम रोकिए छ । ट्यांकी निमार्ण सम्पन्न भएपछि धमिलो पानी आउने समस्या समाधान हुने उहाँको भनाइ छ ।
वर्षायाममा पानीजन्य रोगबाट बच्नका लागि पानी राम्रोसँग उमालेर पिउने (कम्तिमा १ मिनेटसम्म भकभकी उम्लिएको हुनुपर्छ), पानीको शुद्धता सम्बन्धित निकाएमा गएर चेक गराएर मात्र खाना बनाउन वा खान प्रयोग गर्ने साथै दुषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध बनाइ प्रयोग गर्न सिन्धुली अस्पतालका मेसु प्रधानले आग्रह गर्नुभयो । साथै उहाँले सढेगलेका बासी तथा काँचो खाने कुरा, बजारमा माखा भन्कीको खाने कुरा÷ क्यान मा राखेको खाना÷ माछा राम्ररी स्टोर नभएको भेटिएमा नखान र सधैं खाना बनाउनु भन्दा अगाडि, खाना खानु अगाडि, दिसा/पिसाब तथा अन्य काम गरिसकेपछि साबुन पानीले हात धुन आग्रह गर्नुभयो ।