बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा बिहान नेकपा (एस), बेलुका एमाले

मंगलवार , भाद्र २२, २०७८

सिन्धुली — सिन्धुलीको फिककल गाउँ कार्यपालिकाका सदस्य खड्ग वसुले मंगलबार निर्वाचन कार्यालय खुल्नासाथ दसी प्रमाण पेस गरेर नेकपा (एकीकृत समाजवादी) रोज्नु भयो । दिनभरजसो हराउनु भएका वसु निवेदन हातमा लिएर करिब दिउँसो ४ बजे निर्वाचन अधिकृतसामु आएर, “म त एमालेमै बस्नुपर्ने भयो, बिहान गरेको सनाखत फिर्ता गरिदिनु पर्‍यो” भनेर अनुनय गर्नु भयो ।

एमालेबाट कार्यपालिका सदस्य बन्नु भएकका वसुले नेकपा (एस) रोजेर सनाखत गर्नु भएको थियो । निर्वाचन अधिकृत खिलबहादुर दर्लामीले निवेदनसहित आयोगमा पठाइदिने बताएपछि उहाँ फर्किनु भएको थियो ।

आफूले दबाबका कारण सनाखत फिर्ताका लागि निवेदन दिएको वसुले बताउनु भयो । सिन्धुलीमा कार्यपालिकाका दुई सदस्यले नेकपा (एस) रोजेका छन् । वसुको सनाखत फिर्ता भएर एमालेमै रहेमा कमलामाई नगरपालिका ८ का वडा सदस्य विष्णु बुर्जामगर एक्ला हुनु भएको छ ।

निर्वाचन अधिकृत दर्लामीका अनुसार नेकपा (एस) रोजेर सनाखत गरेका फिक्कल गाउँकार्यपालिका सदस्य वसुले कार्यालय खुल्नासाथ नेकपा (एस) रोज्नु भएर सनाखत गर्नु भएको थियो । कार्यालय समय सकिनै लाग्दै एमालेमै रहने भन्दै फेरि निवेदन दिनु भएको छ । दल रोजेर गरेको सनाखत र पुरानै दलमा रहेको निवेदन संलग्न गरी आयोगमा पठाइने अधिकृत दर्लामीले बताउनु भयो ।

सिन्धुलीका ९ स्थानीय तहमध्ये तीन वटामा एमालेको प्रमुख–उपप्रमुखसहित रहेका छन् । एक स्थानीय तहमा उपाध्यक्ष र जिसस प्रमुखसमेत एमालेकै छन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीसहित केही वडाध्यक्षहरु केही दिन अघिसम्म नेकपा ( एस)का कार्यक्रमहरु भाग लिने गरेकोमा अन्तिम समयमा आएर एमालेमै बस्नु भएको छ ।

प्रतिक्रिया