शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिमाको रकम भुक्तानी नहुदाँ सिन्धुली अस्पताललाई सास्ती

सोमवार , भाद्र २१, २०७८

सिन्धुली – सिन्धुली अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत जिल्लाका बिरामीलाई सेवा दिदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

अस्पतालबाट जिल्लामा स्वास्थ्य बिमा लागू भएपछि ७० हजार भन्दा विरामीले बीमाको सुविधा प्राप्त गरेका छन् । तीनै बिरामीले अस्पतालमा एक लाख पटक भन्दा वढी सेवा लिएको सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो । जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि बिरामीले सेवा लिरहेका छन् । बेलघारी, लाम्पान्टार,सिथौली र मरिण प्राथमिक स्वास्थ्य केन्द्रबाट बिमित व्यक्तिले सेवा लिरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

अहिले विमा कम्पनीले भुक्तानी नगर्दा औषधी खरिदको लागि अस्पताललाई समस्या भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष ०७७/७८मा बिमा कम्पनीले १ करोड ८ लाख रकम भुक्तानी गर्न बाकीँ रहेको छ । बिमा कम्पनीले भुक्तानी नगर्दा यो वर्ष औषधी खरिदका लागि बोलपत्र आह्वान गर्दा समेत कुनै पनि कम्पनीले बोलपत्र नलिएको उहाँले बताउनुभयो ।

“बिमा कम्पनीले भुक्तानी नगर्दा यस वर्ष औषधी खरिदका लागि कुनै पनि कम्पनीले आवेदन दिएको छैनन् ।” अध्यक्ष पोखरेलले भन्नुभयो, “समयमा रकम उपलब्ध नहुने भएकाले पनि कुनै कम्पनीले औषधी बिक्रीका लागि बोलपत्र नदिएको हो ।” सरकारले नै रकम उपलब्ध नगराएको कारण भुक्तानी गर्न ढिलाई भएको बिमा कम्पनीले बताएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

यस्तै कोभिड १९ संक्रमित विरामीको उपचारमा लागेको खर्च समेत अस्पतालाई सरकारले भुक्तानी नगरेको अध्यक्ष पोखरेल बताउनुहुन्छ । गत आर्थिक वर्षमा मात्र कोरोना संक्रमितको उपचारको लागि लागेको ७२ लाख सरकारले भुक्तानी नगरेको अध्यक्ष उहाँले बताउनुभयो । “असार अगाडिको कोरोना संक्रमितको उपचारका लागि खर्च भएको ७२ लाख सरकारले भुक्तानी गरेको छैन ।” उहाँले भन्नुभयो, “असार पछिको खर्चको त हिसाब नै गरेको छैनौँ ।” अस्पताललाई आउनु पर्ने रकम ढिलाई भएको कारण अस्पतालमा खटिने डाक्टरले पाउने भत्ता समेत नपाउनाले अस्पतालाई छोड्ने गरेका उहाँको भनाई छ ।

प्रतिक्रिया