सिन्धुली – सिन्धुलीमाढीको चोकचोकमा राखिएका ५९ वटा सिसी क्यामेरा बिग्रिएका छन् । कमलामाई नगरपालिकाले सिन्धुलीमाढी चोकचोकमा गत मंसिरमा राखेको ८१ वटा क्यामेरा मध्ये हाल २२ वटा मात्र संचालनमा छन् । बाकीँ ५९ वटा सिसि क्यामेरा १५ दिन देखि संचालन आएको छैन । ती बिग्रिएका सिसि क्यामेराको समयमा मर्मत हुन सकेको छैन ।
बिग्रिएको सिसि क्यामरा मर्मत नहुँदा सिन्धुलीको कमलामाई नगरपालिकामा सुरक्षामा चुनौती थपिदै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाका ईलेक्ट्रोनिकल इन्जिनियर नविन बस्नेतले कम्पनीले नै बिग्रिएको सिसि क्यामेरा मर्मत गर्ने सम्झौता रहेको र उसले बनाउदै गरेको बताउनुभयो ।
कमलामाई नगरपालिकाले मंसिरमा सिन्धुलीमाढी बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको थियो । बजार आसपासमा हुने अपराध नियन्त्रण, दुर्घटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले नगरपालिकाले सिसि क्यामरा जडान गरेको थियो । १५ दिन देखि सिसि क्यामेरा मर्मत नहुँदा आपराधिक क्रियाकलापहरुको निगरानी गर्न प्रहरीलाई नै समस्या हुँदै गएको छ । “सिसि क्यामेरा मर्मत नहुदाँ आपराधिक क्रियाकलाप निगरानी गर्न समस्या भएको छ ।” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले भन्नुभयो, “कमलामाई नगरपालिकालाई विग्रिएको सिसि क्यामेरा मर्मत गर्ने बारम्बार आग्रह गरिरहेको छौँ ।”
कमलामाई नगरपालिकाको ०७६÷७७ मा सोलार र सिसि क्यामेराको लागि २ करोड बजेट विनियोजन गरेको थियो । सोहि बजेटमा नगर क्षेत्र भित्र सिसि क्यामेरा जडान गरिएको हो । कमलामाई नगरपालिका ९ भिमानमा ६ वटा, ५ मा ११ वटा, ६ मा २७ वटा, त्यस्तै ४ मा १० वटा र ७ मा ४ वटा सिसि क्यामेरा जडान गरिएकोे कमलामाई नगरपालिकाका सुचना प्रविधि अधिकृत निर्मल लामाले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकामा अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको लामाले बताउनुभयो । नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सदुपयोग नहुँदा अपराध गतिविधि बड्ने सम्भावना समेत बढदै गएको स्थानियले बताएका छन् ।