शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा वर्षाका कारण भाइरल ज्वरोका बिरामी बढे

शनिवार , श्रावण ३०, २०७८

सिन्धुली – मौसममा आएको परिवर्तनसँगै सिन्धुलीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल सिन्धुली र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् ।

जिल्ला अस्पताल सिन्धुलीमा हाल दैनिक २ सय देखि ३ सय सम्म बिरामी आउने गरेको सिन्धुली अस्पतालका मेडिकल सुपरिडेन्टेन डा उमेश प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले भाइरल ज्वरो र रुघाखोकीको बिरामी वढी आउने गर्दछन् ।

“केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।” उहाँले भन्नुभयो, “मौसममा आएको परिवर्तनको कारण बिरामी वढेका हुन् ।” अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुदाँ उपचार गर्न समस्या परेको छ । घण्टौ पालो कुरेर उपचार गर्नु परेको बिरामीले गुनासो गरेका छन् । अस्पतालको भवन निर्माणधीन भएकाले पनि बिरामी व्यवस्थापन गर्ने समस्या भएको डा प्रधानको भनाई छ ।

अस्पतालमा बिरामीको चाप वढेको छ । “अस्पतालको भवन निर्माणधीन भएकाले पनि व्यवस्थापन गर्ने समस्या भइरहेको छ ,” डा. प्रधानले भन्नुभयो, “दरबन्दी अनुसारको चिकित्सक ल्याउन पहल पनि गरिरहेको छु ।”

जिल्ला भित्रका स्वास्थ्य चौकि तथा स्वास्थ्य क्लिनिकमा पनि ज्वरोको बिरामी वढेका छन् । तिनपाटन गाउँपालिका ११ चकमके स्वास्थ्य क्लिनिकमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने क्लिनिकका संचालक सुब्बा बोगटीले बताउनुभयो । “हाम्रो स्वास्थ्य क्लिनिकमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकी आएका छन् ,” उहाँले भन्नुभयो, “मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका हुन् ।” चकमके स्वास्थ्य क्लिनिकमा दैनिक २० देखि ३० जना सम्म ज्वरोका बिरामी आउने गरेको बोगटीले जानकारी दिनुभयो ।

“निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको संयामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दुषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”

वर्षात्को समयमा पानीका मुहान दुषित हुने भएकाले पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन सिन्धुली अस्पतालका मेडिकल सुपरिडेन्टेन डा उमेश प्रधानले आग्रह गर्नु भएको छ । साथै निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि उहाँले आग्रह गर्नु भयो । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

प्रतिक्रिया