सिन्धुली– सुनकोशी गाउँपालिकाको दुई वटा विद्यालयलाई कम्प्युटर र एल.ई.डि हस्तान्तरण गरिएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ५ को सातबिसे शक्तेपोखरी प्राथमिक विद्यालय र वडा नम्बर ६ को भिमसेन आधारभुत विद्यालयलाई एक एक थान डेक्सटप कम्प्युटर, एक एक थान एल.ई.डि साथै कापि, कलम हस्तान्तरण गरिएको हो ।
सुनकोशी गाउँपालिका र दलित सेवा समाजको समन्वयमा गाउँपालिकाको वडा नम्बर ५ को सातबिसे शक्तेपोखरी प्राथमिक विद्यालय र वडा नम्बर ६ को भिमसेन आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक अभिवृद्धि गर्नको लागि उक्त कम्प्युटर हस्तान्तरण गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो । उहाँका अनुसार उक्त विद्यालयमा सत प्रतिशत दलित समुदायका वालबालिका अध्ययनरत रहेका छन् ।
दलित सेवा समाजका अध्यक्ष केशब लोहारको अध्यक्षता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख अतिथ्यतामा भएका कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बसन्त न्यौपाने, वडा नं ५ का वडा अध्यक्ष कृष्णराज दाहाल लगाएतको सहभागिता रहेको थियो ।