सिन्धुली, – सिन्धुली जिल्लामा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लगाईएको निषेधाज्ञा १० दिन लम्बिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बैशाख २९ गते राती १२ बजेदेखि जेठ ८ गते राती १२ बजेसम्म सिन्धुली जिल्ला भरि निषेधाज्ञा जारी गर्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि यस अघि बैशाख २२ गते राती १२ बजेदेखि बुधबार अर्थात बैशाख २९ गते १२ बजे राती समम्म निषेधाज्ञा लगाईएको थियो । सिन्धुली जिल्लामा बैशाख २८ गतेसम्म कुल संक्रमितको संख्या ३७१ जना पुगेको र आठ जनाको मृत्यु भई स्थिती असहज हुदै गएकाले निषेधाज्ञाको अवधि लम्ब्याईएको हो ।
त्यस्तै जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा कोभिडका बिरामीहरु बढ्दै गएको र उपचारका लागि अक्सिजन सिलिण्डरको आवश्यकता भएको भनी धेरै स्थानीय तहहरुले लिखित र मौकिख माग भएकोले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई प्राप्त अक्सिजन सिलिण्डर बितरण गर्ने बैठकले निर्णय गरेको छ ।
जस अनुसार हरिहरपुरगढी गाउँपालिकालाई पाँच थान, मरिण गाउँपालिकालाई छ थान, घ्याङलेख गाउँपालिकालाई पाँच थान, तीनपाटन गाउँपालिकालाई आठ थान, फिक्कल गाउँपालिकालाई पाँच थान, गोलन्जोर गाउँपालिकालाई पाँच थान र दुधौली नगरपालिकालाई छ थान अक्सिजन सिलिण्डर बितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै उक्त बैठकले सिन्धुली अस्पतालद्वारा सञ्चालित कोभिड अस्पतालमा कोभिडका बिरामी बढ्दै गएको र सुरक्षा पोष्टको माग भई आएकाले उक्त सुरक्षा पोष्ट स्थापनाका लागि जिल्लास्थित सुरक्षा निकायालाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
कोभिड १९ को उपचारमा सहजता ल्याउन वल्र्ड भिजन ईन्टरनेश्नलको सहयोगमा रिलिफ नेपाल मार्फत यस अघि १९ वटा र बुधबार थप ४५ वटा गरी ६४ वटा अक्सिजन सिलिण्डर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई प्राप्त भएकोमा १५ वटा सिन्धुली अस्पताल र चार वटा दुधौली नगरपालिकालाई हस्तान्तरण भई सकेकाले सहयोगी संस्थालाई धन्यावाद दिने बैठकले निर्णय गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ ।
त्यसैगरी जिल्लामा कोभिड १९ का बिरामीको उपचारलाई सहज र थप व्यवस्थित बनाउनका लागि उपचार सामग्री लगायत अन्य सामग्री उपलब्ध गराई सहयोग गरि दिनका लागि रिलिफ नेपाल, सिड्स नेपाल लगायत जिल्लास्थित अन्तराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरु र अन्य सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
मानिसको भिडभाडले पालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै त्यसलाई रोकथाम र न्युनिकरण गर्न पालिकाबाट पाईने अत्याबश्वय सेवा बाहेक अन्य सेवा बन्द गरि निषेधाज्ञा गरिएको स्थानीय तहले जनाएका छन् ।
निषेधाज्ञाको समयमा होटल तथा रेष्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर, पार्टी प्लालेस, स्टेशनरी लगायतका नियमित सेवाहरु र उद्योग, कलकारखाना बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै सार्बजनिक यातायातका साधनहरु बस, ट्याक्सी, जिप, टेम्पो, अटो रिक्सा, नीजि सबारी साधनहरु (दुई पाङग्रे र चार पांग्रे) सञ्चालन गर्न नपाईने बैठकले निर्णय गरेको छ । बैठकले औषधि तथा औषधिजन्य पसल २४ सै घण्टा, पेट्रोल पम्प, खाद्यान्न, फलफुल, तरकारी, दुध, डेरी र ग्यास पसल खुल्ने बताइएको छ ।
खुल्ने सेवाहरुमा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी सहित अत्यावश्यक सेवाहरु, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय सिमिति कर्मचारीहरुबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ । निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शबबहान, खाद्य सामग्री, औषधि, कुखुराको चल्ला, पशुपंक्षिको दाना, पानी, दुध, ईन्धन, फलफुल तथा तरकारी बोकेका सबारी साधनहरु, निर्माण सामग्री ढूवानीका साधनहरु सञ्चालन हुन पाउने भएका छन् ।