शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

स्वाब संकलन गर्न विरामीको घरमै पुगिन् शुनकोशी गाउँपालिका अध्यक्ष दिपा

बुधवार , बैशाख २९, २०७८

सुनकोसी(सिन्धुली)– यहाँको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा विरामीको स्वाब संकलन गर्न घरघरमै पुग्न थाल्नु भएको छ । गाउँपालिकामा कोरोना भाइरस बढेको भन्दै ज्वरो रुघाखोकी लागेका विरामीको घरमा स्वाब संकलन गर्नका लागि किट बोकेर गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीहरु विरामीको घरघरमै पुग्न थालेका हुन् ।सुनकोसी गाउँपालिकाले विरामीको घरमै गएर कोरोना परिक्षण गर्न थालेको छ । कोभिड १९ को दोस्रो चरणको संक्रमण दर बढेसँगै कोरोनाका शंकास्पद र विरामीका लागि घरमै पुगेर कोरोना परिक्षण गर्ने सुविधा गाउँपालिकाले दिएको हो ।

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालका अनुसार गाउँपालिकाभित्र कोरोना फैलदै गएपछि गाउँघरमै स्वाब संकलन गर्नका लागि स्वास्थ्यकर्मी सहितको टोली घरमै लगिएको हो । कोरोना संक्रमणकै कारण सुनकोशी गाउँपालिकाका २ स्थानियको राजधानी काठमाडाँैमा मृत्यु भएपछि गाउँपालिकामा कोरोना परिक्षणको दर बढाइएको गाउँपालिकाले जनाएको छ ।

सुनकोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित गहुँखर्क र सुनकोसी गाउँपालिका वडा नम्बर ७ को मझुवाका स्थानियलाई घरमै पुगेर कोरोना परिक्षण गरिएको गाउँपालिका अध्यक्ष दाहालले बताउनु भयो । “कोरोनाका विरामीसँगको संसर्ग भएका घरमा, ज्वरो आउने तथा कोरोनाको लक्षण देखिएका विरामीको घरमै पुगेर स्वाब संकलन गरि कोरोनाको परिक्षण दर बढाइएका छौ”, गाउँपालिका अध्यक्ष दाहालले भन्नु भयो, “एक गाउँमा ८÷१० जना विरामी भएपछि हामी स्वाब संकलन गर्न विरामीका घरमै पुग्छौ ।”

दोस्रो चरणको कोरोना भाइरसको संक्रमण बढेसँगै सुनकोशी गाउँपालिकामा १ सय ९० जनाको स्वाब लिइ पिसिआर टेष्ट गरिएको र जसमध्ये ५० जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले बताउनु भयो । “हामीले कोरोनाको परिक्षण दर पनि बढाएका छौ”, उहाँले भन्नु भयो, “गाउँघरमै पुगेर स्वाब संकलन गरि परिक्षण गर्न पठाउने गरेका छौ ।”

सुनकोशी गाउँपालिका वडा नम्बर ७ का स्थानिय चन्द्र स्याङबाका अनुसार वडामा ६ जनालाई कोरोना पोजिटिभ देखिएपछि गाउँगाउँमा कोरोना फैलिएको पुष्टि भएको छ । “हाम्रो वडामा ६ जनालाई पोजिटिभ देखियो”, उहाँले भन्नु भयो, “सबैले सुरक्षा सर्तकता नअपनाए अवस्था गाउँगाउँमै भयवह हुन सक्ने देखिएको छ ।”

प्रतिक्रिया