शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

शहरभन्दा गाउँमा कोरोनाको चिन्ता

आइतवार , बैशाख १९, २०७८

सिन्धुली – सिन्धुली जिल्लामा पछिल्लो केही सातादेखि कोरोना संक्रमण ‘दर निकै बढ्दै गएको छ ।

जिल्लाको शहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी संक्रमण हुने दर देखिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्वदेशकै विभिन्न शहर तथा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधैँ गाउँघरमा जाने तथा त्यहाँ उनीहरूले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना संक्रमित दर बढ्दै गएको पाइएको छ ।

सिन्धुली जिल्लामा चैतको अन्तिम साताबाट देखिएको दोस्रो लहरको कोरोना संक्रमणबाट सुनकोशी गाउँपालिकामा एक जनाको ज्यान गई सकेको र ७५ जना संक्रमित भई सकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको सहरी क्षेत्रमा भन्दा गाउँघरमा कोरोना संक्रमणको खतरा छ । कोरोना संक्रमण समुदायमा नै गई सकेको छ ।”

बाहिरबाट आएका व्यक्ति सिधै भेटघाट गर्न गएकोले तीनपाटन गाउँपालिकामा एक जनप्रतिनिधिको आमा कोरोना संक्रमित भई अहिले अन्तिम अवस्थामा रहेको उहाँले सुनाउनुभयो । “अत्यावश्यक सेवाका लागि बाहेक १० दिन कसैलाई पनि घरबाट निस्किन नदिई सुनसान पार्न आवश्यक देखिएको छ, त्यसो भयो भने मात्रै कोरोना नियन्त्रण गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “यो काम गर्ने कस्ले, मैले भनि रहेको छु, सुन्ने निकायले सुनेको छैन ।”

सिन्धुली जिल्लामा अहिलेकै गतिमा कोरोना संक्रमित बिरामी बढी रहेमा यहाँ रहेको स्वास्थ्य संस्थाको क्षमताले उपचार गर्न नसक्ने र जनशक्तिको पनि अभाव रहेको उहाँको गुनासो छ । अस्पताल विकास समितिका अध्यक्ष पोखरेलका अनुसार कोरोना संक्रमित भई तीन जना चिकित्सक त अहिले उपचारका लागि होम आईसोलेसनमा बसेका छन् । अस्पतालका अन्य स्वास्थ्यकर्मीको अवस्था पनि उस्तै छ ।

जनशक्तिकौ अभावमा कमलामाई नगरपालिका–५ शिबनगरमा गर्त बर्ष निर्माण गरिएको आईसोलेसन भवन पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहा अक्सिजन दिनु पर्ने खालका एक दुई जना बिरामी त राखेका छौं । तर जसरी चल्नु पर्ने हो, जनशक्तिको अभावमा त्यरी चलाउन सकि रहेका छैनौ ।”

पछिल्लो समयमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका र तीनपाटन गाउँपालिका कोरोना संक्रमणको बढी जोखिममा देखिएको अस्पतालले जनाएको छ ।

यता प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने पनि कोरोना संक्रमण न्युनिकरण तथा रोकथाममा स्थानीय तहलाई झकझक्याउन शनिबार मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका आफु गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मरिण गाउँपालिकाले स्थानीय कृषि क्याम्पसमा ५० बेडको क्वारेन्टिन बनाएर राम्रै गरेको रहेछ । हरिहरपुरगढी गाउँपालिकामा बुझ्दै छु ।”

कोरोना संक्रमण न्युनिकरण तथा रोकथाममा स्थानीय सरकार गत बर्ष झै यो बर्ष अहिलेसम्म त्यती सक्रिय भएको आफुले नपाएको उहाँको बुझाई छ ।

त्यसो त जिल्लामा स्थानीय तहले कोरोना संक्रमण जोखिमको न्युनिकरण तथा रोकथामका लागि गत बर्ष बनाएको ४३५ क्वारेन्टाईन बेड र आईसोलेसन ३३ वटा बेड उक्त जोखिम कम हुदै गएपछि हटाईएका थिए । यो बषै दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै क्वारेन्टिन र आईसोलेसन बेड व्युताउन स्थानीय तहले चासो दिएको पाईदैन ।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर गाउँपालिकामा कोरोना संक्रमण दर बढ्दै गएकाले तुरुन्तै बैठक राखेर सुरक्षा विधि अप्नाईने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँपालिकाको वडा नं. ५ लंगुरखोलामा दुई जना र वडा नं. २ मा एक जना जनप्रतिनिधिको आमामा कोरोना संक्रमण देखिएको छ । जनप्रतिनिधिको आमाको सिन्धुली अस्पतालमा उपचार भई रहेकोले र अरु दुई जनामा कोरोना संक्रमण देखिएको लंगुरखोला क्षेत्रको अँधेरी मूलबाटोबाट सिसाबोटेसम्मको ्क्षेत्रभित्र सात दिनसम्म मानिसको आवतजावत बन्द गरिएको छ ।”

जिल्ला बाहिरबाट आएका व्यक्तिहरु सिधै गएर आफन्त तथा समुदायमा घुलमिल गर्नाले कोरोना संक्रमणको चिन्ता गाउँघरमा बढ्दै गएको उहाँले सुनाउनुभयो । उहाँले वडा नं. १ मा २० बेडको र गाउँपालिकाको केन्द्र चकमकेमा ५० बेडको क्वारेन्टिनलाई व्युताईने बताउनभुयो ।

 

प्रतिक्रिया