शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका कृषक रासायनिक मललाई बिस्थापित गर्दै

आइतवार , बैशाख १२, २०७८

कृषि उत्पादन बृद्धि गर्न भकारो सुधार कार्यक्रम निकै प्रभावकारी सिन्धुली,१२ बैशाख – “आफ्नै भकारोमा रहेको गोबर र खेर गइ रहेको गाई, भैसींको पिसाब(गहुत) रासायनिक मल रहेछ,” डाँडाटोल निवासी कृषक मिनकुमारी कार्कीले भन्नुभयो, “यसको प्रयोग गर्ने तरिका थाहा पाएपछि रासायनिक मलको सट्टामा अहिले तरकारी र अन्य बालीमा त्यहि प्रयोग गर्ने गरेका छौं ।”

कमलमाई नगरपालिका–१० डाँडाटोलमा कृषि ज्ञान केन्द्र सिन्धुलीले अभियानका रुपमा बिगतमा भकारो सुधार कार्यक्रम सञ्चालन गरेपछि सिन्धुलीका कृषकहरुले आफ्नै भकारोमा रहेको गाई बस्तुको मललाई प्रयोग गर्दै रासायनिक मललाई बिस्थापित गर्न सुरु गरेका छन् । किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउने मुख्य उद्देश्य लिएर उक्त कार्यक्रम जिल्लाका विभिन्न ठाँउमा अभियानका रुपमा सञ्चालन गरेको उक्त केन्द्रले जनाएको छ । आफुले लगाएको तरकारी खेतीमा खेर गइरहेको पिसाब मल प्रयोग गर्ने गरेको कृषक कार्कीको भनाई छ । उहाँले भन्नुभयो, “कृषि प्राविधिकले बताए अनुसार प्रयोग गरेकाले यो वर्ष रासायनिक मलको आवश्यक्ता भएन ।” उहाँका अनुसार उक्त कार्यक्रम अन्तर्गत गहुँत संकलन गर्ने र भकारोलाई सिधै घाम र पानीबाट बचाउन छाप्रो हाल्नु पर्दछ । कमलामाई नगरपालिका–१० मा मात्रै उक्त कार्यक्रमबाट ८० घर परिवार कृषक लभान्वित भएका छन् । कृषि उत्पादन बृद्धि गर्न भकारो सुधार कार्यक्रम निकै प्रभावकारी रहेको कृषकहरु बताउछन् । तरकारी होस वा अन्य बालीमा सदरमुकाम धाएर रासायनिक मल ल्याइ हाल्ने गरेका कमलामाई नगरपालिका–११ निवासी कृषक बुद्धि श्रेष्ठलाई आफ्नै भकारोमा रहेको गोबर र खेर गइरहेको गहुत नै रासायनिक मल भएको थाहा भएपछि खुसीको सिमा रहेको छैन् । “बन्दा कोपी, भान्टा, गोलभेंडा, खोर्सानी मजाले सप्रियो । १० हजार रुपैया भन्दा बढि तरकारी खेतीबाट आम्दानी लिइ सकेको छु, विक्री हुने क्रम जारी छ,” उहाँको भनाई छ । भकारो सुधार कार्यक्रम अन्तर्गत गोठ सुधार गरेपछि मल मात्रै हैन, चौपायाको सर–सफाइमा समेत मद्धत मिलेको स्वयं कृषकहरुको अनुभव छ । “भैसीं र गोरुले गोबर दिने वित्तिक्कै टिप्यो, फाल्यो । अहिले सफा छ”, सोही ठाँउका कृषक सुमित्रा सापकोटाले भन्नुभयो, “पहिला गोठ धेरै फोहोर हुन्थ्यो, वर्षातमा हिलो भएर गोबर सोहोर्न ज्यादै अप्ठेरो थियो, अहिले एकै मिनेटमा हुन्छ ।” पिसावबाट प्रांगारीक मल उत्पादन हुने भएपछि उहाँले संकलन गर्न थाल्नु भएको छ । ‘यसपाली तरकारी र अन्यबालीमा प्रांगारीक मल नै हालियो’, उहाँले सुनाउनुभयो । स्थानीय तहका प्राविधिकहरुका अनुसार बिगत तीन बर्षदेखि जिल्लाका विभिन्न ठाँउमा गोठ सुधार कार्यक्रम सञ्चालन हुदै आएको छ । कमलामाई नगरपालिका कृषि शाखाका प्राविधिक देवीप्रसाद सापकोटा कृषि उत्पादनका लागि भकारो सुधार कार्यक्रम असाध्यै प्रभावकारी रहेको बताउनुहुन्छ । जिल्लामा भकारो सुधार कार्यक्रम कमलामाई नगरपाकिाको रानीचुरी, डाँडाटोल, दुधौली नगरपालिकाको हत्पते, तीनपाटन गाँउपालिका र सुनकोसी गाँउपालिकाको विभिन्न ठाँउमा सञ्चालन गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया