बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सामाजिक सुरक्षा भत्ता बुझ्न बृद्धबृद्धालाई सास्ती

बुधवार , चैत्र ११, २०७७

सिन्धुली,११ चैत – सिन्धुली जिल्लामा बैकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न बृद्धबृद्धाले निकै सास्ती खेप्नु परेको छ ।

सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउने भन्दै बैंकिग वितरण प्रणाली लागू गरे पनि त्यसले अझ बढी सास्ती खेप्नु परेको हो । अझ स्थानीय तहका सवै वडाहरुमा सडक सुविधा समेत विस्तार नभएकाले बृद्धबृद्धाहरु बैंक भएको सदरमुकाम सिन्धुलीमाढी बजार र गाँउपालिकाका केन्द्रसम्म आई पुग्न निक्कै हैरानी व्यहोर्नु पर्ने समस्या रहेको स्थानीय बासिन्दा बताउछन ।

कमलामाई नगरपालिकाले एक बर्षभन्दा बढी समयदेखि नगर क्षेत्रका भत्ताबाहक बृद्धबृद्धा, अपांग, एकल महिला, लोपउन्मुख हायू जातीलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको जनाएको छ । नगरपालिकाले १४ वटा वडाका नौँ हजार पाँच सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

सामाजिक सुरक्षा भत्ता पाउने मध्ये वडा नं. १ र ६ का लाभग्राहिले ज्योति विकास बैंक, २ का लाभग्राहिले प्रभु बैंक, ३ का लाभग्राहीले मुक्तिनाथ विकास बैंक, ४ का लाभग्राहिले मेघा बैंक, ५ का लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक, ७ का लाभग्राहीले लक्ष्मी विकास बैंक, ८ का लाभग्राहिले सिद्धार्थ बैंक, ९ र १० का लाभग्राहिले मेघा बैंक भिमान शाखा, ११ का लाभग्राहिले ग्लोबल आईएमई बैंक, १२ का लाभग्राहिले कृषि विकास बैंक, १३ र १४ का लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक भिमानमा खाता खोलेर उक्त भत्ता बुझ्नु पर्ने बाध्यता छ ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान नसकेर आफुले गत साउन महिनादेखि नै नपाएको कमलामाई नगरपालिका–४ निवासी ८० बर्षिय भगवती देवकोटाको गुनासो छ । उहाँले भन्नुभयो, “आफु बैंक जान सक्दीन, बैंकमा खाता खोल्नु पर्छ रे ? के झन्झट लगाई दिएको हो ।” पहिले सचिबले बितरण गर्दा आफुले नियमित रुपमा उक्त भत्ता पाउदै आएको उहाँको भनाई छ ।

बैंकमार्फत वितरण कार्यले आफु हैरानीमा परेको कमलामाई नगरपालिका–१० का ७० वर्षीया बृद्ध टंकबहादुर विकको पनि गुनासो छ । “पहिले वडा सचिवले घरमै ल्याइ दिन्थे”, उहाँले भन्नुभयो, “अहिले त दिनभर लाएर बैंक धाउनु परेको पर्छ । यहाँ पनि बैंकमा भनेको समयमा काम हुदैन, लाइन बस्दाको दिक्क हुन्छ ।”

“मर्ने बेलामा पनि सरकारले किन दुःख दिएको होला यसरी ?” उहाँले दुःखेसो पोख्नुभयो । गाउँका बृद्धबृद्धा बैंक भएको ठाँउसम्म आइपुग्न गाह्रो हुने र गाउँमा बैंकको पहुँच नभएका कारण भत्ता वितरण गाउँमै आएर गरि दिए राम्रो हुने सुझाब छ बृद्ध टंक विकको । “भत्ता लिनेहरू कोही आँखा देख्दैनन्, कोही कान सुन्दैनन् भने कोही हिड्न सक्दैनन्,” उहाँले अगाडी थप्नुभयो, “हामी जस्ता यस्ता नागरिकको विषयमा सरकारले सोचि दिए राम्रो हुन्थ्यो कि ।” भत्ता वितरणका बेला बैंकको सबै काम छाडेर सबै कर्मचारी वितरणमा रुमलिनु पर्दा अरू सबै काम प्रभावित भएको ज्योति विकास बैंकका एक कर्मचारीले गुनासो गरे ।

सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउन बैंकिङ प्रणालीको सुरुवात गरेको भएपनि सेवाग्राहीहरु भने समस्यामा परेका छन । बृद्धबृद्धाहरुलाई बुढेसकालमा सरकाले दिएको राहत रकम मर्ने बेलामा सजाय जस्तो भएको उनीहरुले महसुस गरेका छन । बुढेसकालमा दुःख भोगीरहेका सेवाग्राहीहरुको समस्यालाई सरकाले गम्भीरतापुर्वक लिन जरुरी रहेको स्थानीयहरु बताउछन ।

यता नगरपालिका कार्यालयले भने असक्त र बच्चा बच्चीहरुका लागि वडा सचिबको सिफारीसमा उस्ले इच्छाएको व्यक्तिले लिन पाउने व्यवस्था मिलाएको बताएको छ । खाता खोल्नका लागि बैंकसम्म आउन नसक्ने व्यक्तिका लागि भने वडा कार्यालयको समन्वयमा बैंकले खाता खोल्ने व्यवस्था मिलाउने गरि सहमति भएको सामाजिक विकास शाखा प्रमुख बबिन्द्रलाल माझीले बताउनुभयो ।

प्रतिक्रिया