शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौँ, २८ फागुन - निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ ।

चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ । यो सडकमा पटके वा नियमित मर्मत गत वर्षहरुमा पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम यही वर्षदेखि शुरु भएको हो ।”

मर्मतको काम भइरहेका अधिकांश स्थानमा नेपाली रकमबाट नै काम भइरहेको आयोजनाले जनाएको छ । सडक बोर्ड नेपालले बर्सेनि सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ । त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत अघि बढाइएको प्रमुख भाटले बताउनुभयो ।

बिपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ । सिन्धुलीको खुर्काेट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो । त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको प्रमुख भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यो १० किमी सडक पनि चैतसम्ममा सकाउने योजना छ ।”

नेपालथोकदेखि धुलिखेलसम्मको सडकमा ‘सिङ्गल सर्फेस ट्रेसिङ’ १० किमी सकिएको र बाँकी १० किमी आगामी चैतमा सकाउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ । नेपालथोक खुर्काेट सडकमा चालु आवमा २५ किमी ओभरले गर्ने योजना बनाइएको छ । त्यसमध्ये पाँच किमी सकिएर २० किमी सडक ‘ओभरले’ का लागि ठेक्का भइसकेको छ । उहाँले भन्नुभयो, “यो वर्ष ठेक्का भए पनि अर्काे वर्ष मात्रै काम सकिनेछ ।”

अहिले भकुण्डेबेँसी क्षेत्रमा पाँच किमी सडक मर्मतको काम भइरहेको छ । नेपालथोक–धुलिेखल सडकमा चालु आवमा २० किमी सडक ‘सिङ्गल सर्फेस ट्रेसिङ’ गर्ने योजना बनाइएको थियो । त्योमध्ये अहिलेसम्म मध्ये १० किमी सम्पन्न भइसकेको छ । बाँकी १० किमीमा निर्माण जारी रहेको र चैतसम्ममा सकाउने लक्ष्य लिइएको बताइएको छ । आयोजनाले सिन्धुली–बर्दिवास सडकमा पाँच किमी मर्मतका लागि ठेक्का सम्झौता गरिसकेको छ । त्यो सडक पनि चालु आवमा नै सम्पन्न हुने प्रमुख भाटले जानकारी दिनुभयो ।

सडक हस्तान्तरण सकिएको झण्डै छ वर्षपछि धेरै ठाउँमा एकै पटक मर्मत भइरहेको हो । फरकफरक खण्डमा फरक मितिमा निर्माण सकिएको आयोजनाले जनाएको छ । सबैभन्दा पछिल्लो पटक नेपालथोक–खुर्काेट सडक सम्पन्न भएर हस्तान्तरण भएको हो । त्यसमा पनि यो वर्षदेखि मर्मत शुरु भएको प्रमुख भाटले बताउनुभयो । उहाँका अनुसार यो खण्डमा पाँच किमी सडकमा मर्मत सकियो भने २० किमी मर्मतका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भइसकेको छ ।

अहिले मर्मत भइरहेको सडकमध्ये नेपालथोक–खुर्काेट खण्डमा मर्मतका लागि वैदेशिक लगानीसमेत रहेको आयोजनाले जनाएको छ । सो सडकमा २० किमी मर्मतका लागि विश्व बैंकले रु १० करोड र नेपाल सरकारको रु चार करोड ६८ लाख लगानी रहेको छ । बैंकको ‘कोर रोड नेटवर्क’ कार्यक्रममा सो सडकको मर्मत हुन लागेको हो । चालु आवमा ठेक्का सम्झौता भए पनि निर्माणको काम आगामी आवमा मात्रै सम्पन्न हुने प्रमुख भाटले बताउनुभयो ।

सडक निर्माणले एउटा अवधि पार गरेकाले एकै पटक ठूलो क्षेत्रमा मर्मत गरिएको उहाँले बताउनुभयो । आगामी आवमा झण्डै ४० किमी सडकमा ‘ओभरले’ गर्न आवश्यक रहेको आयोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “सडक बोर्डले जति रकम छुट्ट्याउँछ, हामीले त्यसैबाट मर्मत गछौँ ।”

सडकको लम्बाइ १६० किमी रहेको छ । सो सडक चार खण्ड रहेकामा बर्दिवास–सिन्धुलीबजारको लम्बाइ ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ । पूर्वी तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो सडकका रूपमा यो राजमार्ग रहेको छ ।

जाइकाले सो सडकको एक लेनमा निर्माण गरेको थियो । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन । धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक–खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो । सडक स्तरोन्नति भइरहेको सडकमा विस्तारको समेत आवश्यकता रहेको छ ।

 

आज फाल्गुण २८ गते शुक्रबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन २८ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी,२१ घडी २० पला, दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त औशी । नक्षत्र–शतभिषा,४१ घडी ०७ पला,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सिद्ध,०६ घडी ०६ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– शकुनि,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुष्पद ,रातको ०३ बजेर ०२ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३७ पला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रयास गर्दा रोकिएका काम बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि र चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् । विशेष लाभ उठाउन सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने सम्भावना छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउने छन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।

तपार्ईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया