सिन्धुली – सिन्धुली जिल्लामा कोरोनालाई जितेर सन्चो भई घर गएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाईएको छ ।
सुनकोसी गाँउपालिका–१ निवासी २५ बर्षिय सुदर्सन कोईरालाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “घर परिवारका मानिस नजिक छन्, समाजका अरु व्यक्तिले गर्ने व्यवहार निकै फरक हुदो रहेछ ।”
उहाँले भन्नुभयो, “म कन्ट्रकसनमा काम गर्न जनकपुर गएको थिए । कोरोनाको डर भयो । त्यसपछि घरमा आएर हप्तादिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसे । त्यही बेला स्वाब परिक्षण गर्न दिएको । शंका नै थिएन, फ्याट्ट कोरोना देखियो ।” सदरमुकाम सिन्धुलीमाढीस्थित एपोलो अस्पतालमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाई र खानपिनले नै कोरोनालाई जितेको उहाँको अनुभव छ । बेला बेलामा बेसार पानी भने खाएको उहाँले सुनाउनुभयो ।
कोरोनालाई सामान्य सोच्नु नहुने बताउदै उहाँले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको कोईरालाको भनाई छ । कमलामाई नगरपालिका–६ निवासी ५० बर्षिय पुण्यप्रसाद घिमिरे पनि गुर्जोको धुलो, असोगन्धा, बेसार, जिरा र अदुवा पानी खाएर आफुले कोरोनालाई जितेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “कोरोना लाग्ने बित्तिकै सुरुमा निकै डर लागेको थियो, तर डराउनु नहुने रहेछ । लागिहाले आत्तिहाल्नु पर्ने अवस्था हुदो रहेन छ । कोरोना भनेको केही होईन रहेछ ।” कोरोना लागेपछि घर बाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउदै उहाँले आफुले होम आईसोलेनसमा नै बसेर उपचार गरेको र अस्पतालका स्वास्थ्यकर्मीले फोन गरेर बारम्बार स्वास्थ्य अवस्थाबारे बुझि रहेको सुनाउनुभयो ।
त्यसो त सिन्धुली जिल्लामा पछिल्लो समयमा ६२ जनामा कोराना सं क्रमण देखिएको र ती मध्ये अहिले नौ जनाको उपचार भई रहेको छ । बाँकीले उपचार गरी कोरोनालाई जितेर घर गई सकेको सिन्धुली अस्पतालले जनाएको छ ।