सिन्धुली,१ भदौ – सिन्धुलीको मरिण गाँउपालिका–४ निवासी सुजता ठोकरको घर छेउमा रहेको जंगलमा बर्सेनी प्रशस्त मात्रामा थाकल पाईन्छ । सँधै सुखेर खेर जाने थाकलको पातबाट पनि पैसा कमाईन्छ भन्ने उहाँमा ज्ञान थिएन । भर्खरै थाकलको पातबाट झोला, पर्स र ह्याट बनाउने सिप पाएसँगै अहिले उहाँ व्यवसाय गर्न तर्खरमा हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “घर छेउकै जगलमा पैसै पैसा रहेछ । सिप नहुदा ख्यालै थिएन । भर्खरै १५ दिनको तालिम लिएसँगै व्यवसाय गर्ने जाँगर पलाएर आएको छ ।” पहिले पहिले गाँउघरमा गाईबाख्राको गोठ र घर छाउन थाकल प्रयोग हुने भए पनि अहिले यसको प्रयोग हुन छाडेको उहाँले सुनाउनुभयो ।

“गाईवस्तुले पनि खाँदैन, जङगलमा सुकेर त्यसै खेर जान्थ्यो,” सुजनासँगै १७ दिन तालिम लिनु भएकी सोही ठाँउकी रोसनी रिजालले भन्नुभयो, “घर छेउमा नै रोजगारीको दरिलो आधार रहेछ । झोला, पर्स र ह्याट बनाउने तालिम पाएसँगै आँखा खुलेका छ ।” तालिम लिएसँगै व्यवसाय गर्ने जोसजाँगर बढेर आएको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “झोला, पर्स र ह्याट बनाउन साईज अनुसार समय लाग्दछ । दुई दिनसम्म खट्दा आकर्षक एउटा झोला बनाउन सकिन्छ । ह्याट र पर्स बनाउन भने एक दिनदेखि डेढ दिनसम्म समय लाग्द छ ।” भर्खर तालिम लिएर सकेकोले उत्पादन भएका सामग्रीको बजार मूल्य भने निकाल्न बाँकी रहेको उहाँको भनाई छ । दुई दिनअघि उक्त तालिम सकिएको उहाँको भनाई छ ।
उहाँका अनुसार गाँउघरमा प्रशस्त पाईने थाकलको उपयोग कसरी गर्न सकिन्छ भनेर साहस लघुउद्यम सहकारी संस्थाले खोजी गर्यो । थाकलको पातबाट घरेलु प्रयोगका सामग्री बनाउन सकिने जानकारी पाएपछि मरिणका महिलाले तालिम लिएका हुन् । १५ दिने तालिमपछि मरिणका महिलाले आकर्षक ब्याग, छत्रे टोपी लगाायत सामग्री बनाउने सिप पाएका छन् ।

उक्त तालिम सञ्चालन गर्ने सहकार्य नेपालका अनुसार एफसिए नेपालको आर्थिक सहयोगमा विपन्न समुदायका लागि आर्थिक तथा सामाजिक विकास परियोजना अन्तर्गत साहस लघु उद्यम कृषि सहकारी संस्थाका १७ महिलालाई तालिम सञ्चालन गरिएको हो । उक्त परियोजनाका कार्यक्रम संयोजक तुलसी घिमिरेका महिलाले थाकलबाट व्याग, पर्स र ह्याट बनाउने सिप पाएका छन् ।
सहकार्य नेपालले पछि उद्यमीहरुलाई प्राविधिक सहयोग गर्ने जानकारी दिदै उहाँले उद्यमीको उत्पादनलाई प्रबद्र्धन गर्न कासेली घरमा प्रदर्शनी, व्यापार मेलामा स्टल खरिद, क्रेता–बिक्रेता बीच अन्तरक्रिया गराई बजारीकरणमा सहयोग पुर्याउने बताउनुभयो ।

साहस लघुउद्यम सहकारी संस्थाका अध्यक्ष जीतबहादुर श्रेष्ठले भन्नुभयो, “मरिणमा थाकल प्रसस्त पाइने हुनाले त्यसलाई आम्दानीको स्रोत बनाउने उद्देश्यले सहकारीमा आबद्ध महिला सदस्यलाई तालिम दिइएको हो ।” उहाँले भन्नुभयो, “खेर गएको थाकल प्रयोग गरेर सहकारीमा आबद्ध महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर तालिम आयोजना गरिएको हो ।”
मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले उक्त सहकारीले थाकलको पातलगायत स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन गरेका सामग्री गाउँपालिकाले खरिद गरि दिने बताउनुभयो । उहाँले महिलाले उत्पादन गरेका सामग्री खरिद गरी बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।