सिन्धुली,३२ साउन – मरिण गाउँपालिका–४ ठुली दमारकी इन्दिरा रसाईली उक्त वडाकी वडा सदस्य हुनुहुन्छ । उहाँले १७ वर्षदेखि घरमा सोलारको प्रयोग गर्दै आउनु भएको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सोलार सहयोग गरेपछि उहाँले यसको प्रयोग गर्नु भएको हो ।
पहिले टुकी र लालटिनको प्रयोग गर्ने उहाँको परिवारको जीवन सोलार जडान गरेपछि निकै सहज भएको छ । मोवाईल चार्ज गर्न, रेडियो बजाउन, टिभि हेर्न, बत्ति बाल्न सोलारकै प्रयोग हुन्छ । उहाँले भन्नुभयो,“‘लालटिन र टुकीको तुलनामा धेरै उज्यालो दिन्छ, राम्रो उज्यालो दिन्छ ।” उक्त वडामा सोलार प्रयोग गर्ने तीन सय घरधुरीभन्दा बढी छन् ।
“बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सोलार सहयोग गरेपछि त्यहाँका स्थानीयले सहज रुपमा उज्यालोमा बस्न पाएका छन” उहाँले भन्नुभयो । त्यस्तै मरिण गाउँपालिका वडा नं. ७ महेसोताकी ४१ बर्षिया सुकुमाया तामाङलाई सुधारिएको चुलो प्रयोग गर्ने बानी बस्दै गएको छ । तीन बर्षअघिसम्म परम्परागत चुलो प्रयोग गरी खाना पकाउदै आएकोमा अहिले सुधारिएको चुलो प्रयोग गर्न थालेको उहाँले जानकरी दिनुभयो ।
उहाँले भन्नुभयो, “परम्परागत चुलो भन्दा कम धुवाँ आउने हुदा भान्सामा काम गर्न सजिलो भएको छ । रुघाखोकी लाग्ने, आँखा रातो हुने, पाक्ने जस्ता समस्या आउन छोडेका छन । अर्को कुरा दाउराको निक्कै बचत भएको छ ।”
उहाँको अनुभवमा एकभारी दाउराले परम्परागत चुलोमा दुई दिन खान पकाउन पुग्दैनथ्यो । सुधारिएको चुलो प्रयोग गर्न थोलेपछि दुई हप्तालाई पुग्छ । पहिले जस्तो दाउरा खोज्न जंगल गईरहने चिन्ता पनि कम भएको छ । परम्परागत चुलोमा एक अंगालो दाउराले एक छाक खाना पकाउँदा पनि खान पाक्न ढिलो हुने गरेकोमा सुधारिएको चुलोमा दुई वटा दाउराले छिट्टै खाना पकाई सक्छिन ।
“हल्का हावा दिएपछि चुलोमा आगो बल्छ” उहाँले भन्नुभयो, “आगो पुरै बलेपछि खाना बसाल्दा ५ मिनेटमै पाक्ने गर्छ ।” धुवाँ कम हुने, भाँडामा कालो नबस्ने, कम खर्चिलो र जता लगेर पनि बाल्न सकिने हुदा यो चुलो लोकप्रिय बन्दै गएको उहाँले सुनाउनुभयो । उहाँले चार हजार तीन सय रुपैयामा सुधारिएको चुलो किन्नु भएको छ । उहाँले सुधारिएको चुलो प्रयोग गर्न थालेपछि ठूला ठूला भोजभतेर बाहेक परम्परागत चुलोको प्रयोग गर्नु भएको छैन । बरु सिलिण्डर ग्याँसको प्रयोग गर्नु भएको छ ।
मरिण गाउँपालिका ७ महेसोताकी गिता उप्रेतीको घरमा गोबरग्याँसबाट बात्ति बालेको सात वर्ष भयो । उहाँको गोवरग्यासमा विहानको तातोपानी, नुहाउने पानी, खाना, दिउँसो खाजा र बेलुका खाना सबै पाक्छ । हालसम्म मर्मतमा समेत पैसा खर्च गर्नु परेको छैन । छ घनमिटरको उहाँको गोबरग्याँसमा शौचालय पनि जोडिएको छ । खाना पकाउन त्यहि ग्याँसले पुग्छ । “गोबरग्याँसमा एकपटक लगानी गरेपछि फेरी लगानी गर्नुपर्दैन । धुवा हुदैन, भाँडामा कालो बस्दैन, छिटो खाना पाक्छ” उप्रेतीले भन्नुभयो ।
उहाँका अनुसार परम्परागत चुलोमा भन्दा सस्तो पनि हुन्छ । दाउरा किन्ने समस्या पनि हटेको छ । उप्रेति परिवारले वत्ति सोलार नै बाल्छन । सोलारबाटै तीन वटा वत्ति बल्छन । विद्युत लाईन जोडेको भर्खरै हो । तर उनीहरुले उज्यालोमा बस्न पाएको भने सात वर्ष भईसकेको छ ।
सुधारिएको चुलोको अर्की प्रयोगकर्ता हुन मरिण गाउँपालिका ७ की रजनी मैनाली । उहाँले परम्परागत चुलो, कोइले चुलो, सुधारिएको चुलो र गोबरग्याँस सबै प्रयोग गर्नुभयो । आगोमा खाना पकाउनका लागि भने उहाँलाई सुधारिएको चुलो नै ठिक लाग्यो । तिथि श्राद्धमा चोखो खान पनि यो चुलोले सजिलो हुने र सुख्खा रोटी बनाउन पनि सजिलो हुने उहाँले बताउनुभयो ।
मरिण गाउँपालिका वडा नं. ७ की स्वास्थ्य स्वयम सेविका रमा शाही सुधारिएको चुलोले महिलाहरुको जीवन निकै सहज भएको बताउनुहुन्छ । उहाँका अनुसार मरिण गाउँपालिकाका महिलाहरुको स्वास्थ्यमा समेत आजभोली सुधार हुदै गएको छ । परम्परागत चुलो प्रयोग गर्दा आँखा पाक्ने, रातो हुने, खोकी लाग्ने, दम बढ्ने जस्ता रोगले सताईएका महिलाहरु आजभोली त्यस्ता समस्या देखाउँदैनन । “घरपरिवारको स्वास्थ्य होस वा वातावरणको प्रदुषण, त्यसलाई सुधार गर्न सुधारिएको चुलोले फाईदा पुगेको छ” उहाँले भन्नुभयो ।
मरिण गाँउपालिकाले पनि गत आर्थिक बर्ष ०७६÷०७७ को बैकल्पिक सौर्य उर्जा प्रबद्र्धन कार्यक्रम अन्तर्गत १३ लाख रुपैया बजेटबाट ५० वाट क्षेमताको सोलार प्यान खरिद गरी भर्खरै ९० घर परिवारलाई बितरण गरेको गाँउपालिकाका प्रबक्ता तथा वडा नं. ३ का अध्यक्ष बिमर्स मुक्तानले जानकारी दिनुभयो ।