शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा जडिबुटी व्यवस्थित नहुदा करोडौं गुम्दै

आइतवार , श्रावण २५, २०७७

सुनकोसी गाँउपालिका–७ नागिमा एक किसानले जडिबुटी खेती अन्गर्तत गरेको रोजमेरी खेती ।

सिन्धुली – सिन्धुली जिल्लाको महाभारत क्षेत्र तथा चुरे जंगलमा पाईने जडिबुटीको उचित सदुपयोग हुन नसक्दा बर्सेनि करोडौं रुपैया राजश्व गुम्दै गएको छ । महत्वपुर्ण र लोपउन्मुख रुख प्रजातिका वनस्पति तथा गैह्र काष्ठ जन्य जडिवुटीको संरक्षण तथा उपयोग गर्न नसक्दा बर्सेनि झण्डै ५ करोड मुल्य बराबरको बहुमुल्य जडिवुटीहरु खेर जाने गरेको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा एक सय तीस भन्दाबढी प्रजातीका बहुमल्य जडिवुटिहरु पाईन्छ, तर त्यसको निकासी तथा प्रशोधन गर्न राज्य र निजी क्षेत्र दुवैले कुनै चासो नदिदा बर्सेजि मुल्यवान जडिवुटीहरु खेर जाने गरेको कार्यालयका कर्मचारीको भनाई छ । कार्यालयका अनुसार साल, खयर, वर्रो, जामुन, कर्मा, चाप, जस्ता महत्वपूर्ण रुख प्रजाती र चिराइतो, जिवन्ती, पाखनवेत, अमला, हर्रो, टिमुर, सिकाकाई, कुरीलो, लोक्ता तीतेपाती जस्ता जडिबुटीहरु सिन्धुलीका महाभारत श्रृंखलाका २५ बढी ठाँउमा पाईन्छ । जिल्लाका महादेवडाडा, जिनाखु, अरुणठाकुर, बाहुनतिल्पुङ, खोलागाँउ, पोखरी, तोश्रामखोला, रतनचुरा, तिनकन्या, जलकन्या लगाएतका ठाँउहरुमा बहुमुल्य जडिवुटी तथा गैह्र काष्ठको भण्डार रहेको वनको सरोकारवाला व्यक्तिहरु बताउछन् । “निकासीका लागि उपयुक्त व्यवस्था मिलाउने हो भने बर्सेनि करिव दुई लाख किलो ग्राम बहुमुल्य जडिवुटीहरु जिल्ला भित्र तथा वाहिर निकासी गर्न सकिन्छ,” वनकै जागरिबाट सेवा निबृत्त कर्मचारी राजेन्द्रप्रसाद जैसावलले भन्नुभयो, “सामन्य मुल्यमा पनि त्यसबाट पाँच करोड भन्दाबढी जिल्लामा भित्रन सक्ने सम्भावना रहेको छ ।” यसका लागि वन कार्य योजनाको संशोधन गरि सम्बन्धीत निकायले त्यस्ता जडिवुटीको निकासीका लागि कानूनी व्यवस्था मिलाउनु पर्ने र जिल्लामै प्रशोधन उद्योगको व्यवस्थापन गर्नु पर्ने प्राविधिक जैसवालको तर्क छ । स्थानीय वनस्पती तथा श्रोत सम्पदाको वंशाणु श्रोत संरक्षण गर्ने तर्फ उपभोक्ताहरुलाई अभिप्रेरीत गरिए पनि त्यसको सदुपयोग हुन नसक्दा निर्यात तथा विक्री वितरणबाट जिल्लालाई हुने करोडौं रुपैयाँको आन्तरीक आयश्रोत समेत वर्षौदेखि खेर गई रहेको सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीले जनाएको छ । संघका अनुसार अहिले व्यापारीको माध्ययमबाट काउलो, टिमुर, कुरीलो लगाएतका दश प्रजातीका जडिवुटी मात्र निकासी हुने गरेको छ, त्यसबाट न्यून मात्रामा आन्तरिक राजश्व संकलन भएको छ । “जिल्लामा सामुदायिक तथा कवुलियती वन उपभोक्ता समुहहरुको वन व्यवस्थापन कार्ययोजनामा समेत अनिवार्य रुपमा सामेल गराई जैविक विविधता संरक्षण गर्न आग्रह गरिएको छ, तर उपभोक्ताले नै चासो दिएका छैनन्,” वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पनि उत्तरी महाभारत श्रृङ्खला, चुरे, भित्रीमधेश तथा वेंशी र खोंच क्षेत्रहरुमा भौगोलिक तथा वातावरण अनुसार फरक फरक प्रजातीको जडिबुटीहरु पाईन्छ । डिभिजन वन कार्यालय सिन्धुलीले फिक्कल गाँउपालिकाको महादेवडाडाँ क्षेत्रमा र डिभिजन वन कार्यालय मरिणले घ्याङलेख गाँउपालिकाका क्षेत्रमा २०७५ सालदेखि बल्ल जडिबुटीको व्यवस्थापन गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो । साल, खयर, अस्ना, तथा सिसौ प्रजातीका रुखहरु व्यापारीक प्रयोजनमा प्रयोग हुन्छ भने लौठसल्ला, पाँच औले, चिराईतो, दालचिनी, अम्रीसो, खोटो, बनकस, जस्ता अमुल्य जडिबुटीहरु तथा गैह्रकाष्ठ वन पैदावरको उचित सदुपयोगबाट जिल्लाको आर्थिक समुन्नतीमा महत्वपर्ण सहयोग पुग्ने उहाँको भनाइ छ । दम, औलो, चर्म, नशा तथा वाथ रोगको उपचारका लागि प्रयोग गरिने जडिबुटीहरु जिल्ला भित्रै पाईने जिल्ला आयुर्वेद स्वास्थ्य केन्दका वैद्य निरिक्षक दिपक तिमल्सिना बताउनुहुन्छ । ‘जुन वहुमुल्य जडिबुटी हुन्, आयुर्वेदिक औषधीहरुमा त्यस्ता जडिवुटीहरुको प्रयोग हुन्छ,’ उहाँले भन्नुभयो, “कतिपय जिल्लाको जडिबुटीहरु भारतमा पु¥याएर नेपालीले लाखौं रुपैयामा खरिद गरेर आयात गर्नु पर्ने वाध्यता छ ।” डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठ फिक्कल गाँउपालिकामा जडिबुटी संरक्षणका लागि यो बर्ष ४० लाख रुपिया बराबरको कार्यक्रम रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो बर्ष लोठ सल्ला, टिम्बुर, चिराईतो लगायतको बृक्षा रोपण कार्यक्रम रहेको छ । जडिबुटी संरक्षणका लागि फिक्कलका किसानलाई नर्सरी व्यवस्थापन, बृक्षा रोपण, तालिम लगायतका ज्ञान दिदै आएका छौं ।’ यसअघि त्यहाका किसानलाई मजितो, तितेपातीलाई ब्वायल(उसिन्ने) गरेर रस निकाल्ने मेसिन दिएको समेत उहाँले सुनाउनुभयो । गत आर्थिक बर्ष ०७६÷०७७ मा जडिबुटी जन्य वनसस्पतिबाट करिब ७५ लाख रुपियाँजती राजश्व संकलन भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया