काठमाडौँ,१५ साउन – नेपाली काँग्रेसले ज्येष्ठ सभामा सिन्धुलीका दुईजनालाई मनोनयन गरेको छ । बुधबार अर्जुन बराल र झलक बहादुर राउत सहित ४७९ जनालाई ज्येष्ठ सभामा मनोयन गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्न पार्टीका विभागमा मनोनयन गरेको भन्दै आपत्ति जनाइरहेका बेला बुधबार फेरि पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभालाई पूर्णता दिनुभएको छ ।
पौडेलले पक्षले बुधबार नै पार्टी कार्यालय सानेपामा भेला गर्दै सभापतिलाई मनलाग्दी रुपमा मनोनयन नगर्न ध्यानाकर्षण गराउने निर्णय गरेका दिन देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गर्नुभएको हो ।
पौडेल पक्षले गुटको भेला सकेर पार्टी कार्यालय सानेपाबाट बाहिरिएको केही समयपछि ४७९ जनालाई मनोनयन गरेको विवरण सार्वजनिक गर्नुभएको हो ।
सभापति देउवाले पूर्व सभामुखहरु दमननाथ ढुंगाना र तारानाथ रानाभाटलाई पनि जेष्ठ सभामा मनोनित गर्नुभएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभालाई पूर्णता दिएको जानकारी दिनुभयो ।
आउँदो फागुन ७ गते १० सम्म काठमाडौँमा हुने पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्न देउवा लागेको आरोप पौडेल पक्षले आरोप लगाएको छ ।