सिन्धुली,११ साउन– पछिल्लो समयमा आयुर्वेद उपचार मानिसको आकर्षण बढ्दै गएको बेला सिन्धुली जिल्लामा अझै पाँच वटा स्थानीय तह आयुर्वेद अस्पतालबिहिन अवस्थामा रहेका छन् ।
जिल्लाका नौ वटा स्थानीय तह मध्ये अहिले चारवटा स्थानीय तहमा मात्रै आयुर्वेद अस्पताल रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रका अनुसार राज्य पुनर्सरचनासँगै बाग्मती प्रदेश सरकारको मातहतमा रहने गरी कमलामाई नगरपालिका–७ माझीटारमा जिल्ला आयुर्वेद अस्पताल रहेको छ ।
त्यस्तै स्थानीय तहको मातहतमा रहने गरी कमलामाई नगरपालिका–१३ रानीचुरी, मरिणगाँउपालिका–६, सुनकोसी गाँउपालिका–१ दुम्जा र तीनपाटन गाँउपालिकाको वडा नं. २ भिमस्थान र वडा नं. ८ बाहुनतिल्पुङमा आयुर्वेद औषधालय रहेका छन् ।
अझै दुधौली नगरपाकिा, घ्याङलेख, हरिहरपुरगढी, गोलन्जोर, र फिक्कल गाँउपालिका आयुर्वेद अस्पताल विहिन अवस्थामा रहेको स्वास्थ्य केन्द्रका वैद्य निरिक्षक दिपक तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्कालिन समयमा आयुर्वेद स्वास्थ्य नीति २०५२ अनुसार प्रत्येक गाविसमा आयुर्वेद अस्पताल स्थापना गर्ने लक्ष्य थियो । पछिल्लो समयमा आएर राज्यको पुनःसंरचनासँगै अन्यौल भई रहेको छ । भैइ रहेको ठाँउबाट पनि अर्को ठाँउमा सार्न कठिन छ ।”
अहिले पनि आयुर्वेदीक दवाई दैनिक रुपमा भान्सामा प्रयोग भई रहेको जानकारी दिदै उहाँले मेथि, बेसार, लसुन, अदुवा र तुलसीपत्ता जस्ता जडिबुटी भान्सामा प्रयोग भई रहेको बताउनुभयो । सरोकारवाला निकायले अलि चासो कम दिदा यसको पँहुच सोचे अनुसार बढ्न नसकेको जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रले जनाएको छ ।
स्थानीय तह मातहत रहको आयुर्वेद औषधालयको कर्मचारी व्यवस्थापन, औषधि खरिद र ढूवानी सबै काम स्थानीय तहले नै गर्दै आएको जनाईएको छ ।
स्वास्थ्य केन्द्रका चिकित्सक डा. लिला पाण्डे पहिलेको तुलनामा अहिले मानिसको आयुर्वेदिक उपचार प्रति आकर्षित बढ्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले ग्याष्टिकको मात्र दबाई लिन आउथे । अहिले सबैखालका बिरामी आउन थालेका छन् ।”
आयुर्वेदिक दवाईले बिस्तारै रोग निको हुदै जाने र एल्लोप्याथीक दवाईले झट्ट काम गर्ने भएकोले पनि बिरामीहरुको सोचेजस्तो आयुर्वेदिक दवाईमा आकर्षण नबढेको हुन सक्ने उहाँको तर्क छ । आयुर्वेद उपचारप्रति जनचेतना अझै कम रहेको र यसको प्रचार प्रसारको खाँचो रहेको डा. पाण्डेले बताउनुभयो ।
आयुर्वेद अस्पतालले बिरामीलाई निःशुल्क दबाई बितरण गर्नुका साथै पञ्चकर्म (स्नेहन, स्वयदन), शिरोधारा, बस्ती लगायतका सेवा र योग सिकाउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
सिन्धुली जिल्लामा गत आर्थिक बर्ष ०७६/०७७ मा १५ हजार भन्दा बढी बिरामीले जिल्लाका आयुर्वेद औषधालयबाट उपचार लिएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।