(ग्वाल्टार),सिन्धुली,९ साउन – सिन्धुलीको गोलन्जोर गाँउपालिका–३ ग्वाल्टारस्थित पूर्वको पशुपतिनाथ भनेर चिनिने सुलिभञ्ज्याङ मानब अतिक्रमणको चपेटामा परेको छ ।
गाँउपालिकाले गरेको सर्बदलिय निर्णयलाइ बेवास्ता गर्दै उक्त ठाँउमा स्थानीय उद्धब घिमिरेले पक्की घर बनाई रहेको स्थानीय बासिन्दाले बताएका छन् । सुलिभञ्ज्याङ मानब अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि गाँउपालिकाले जेठ २६ गते सर्बदलिय बैठक बसी उक्त ठाँउमा घर बनाउन रोकेको थियो ।
उक्त बैठकले गाँउपालिका भित्रका ऐलानी पर्ति जग्गामा पक्का संरचना बनाउन नपाईने, सम्पूर्ण ऐलानी पर्ति जग्गा करको दायरमा ल्याउने, आगामी दिनदेखि थप अतिक्रमण हुन नदिने र यदि आवश्यक परेमा गाँउपालिकाले नै संरचना बनाई भाडामा दिने, मोही कायम नभएका गुठीका जग्गामा बनेको संरचना खाली गर्न लगाउने, धार्मिक, सांस्कृतीक, पुरातात्वीक स्थानमा असर पर्ने गरी पशुपंछि चौपाया नियन्त्रण गरेर मात्र पाल्न पाउने लगायत निर्णय गरेको थियो ।
सुलिभञ्ज्याङमा रहेको भिमलेश्वर महादेव मन्दिरको नाममा रहेको गुठी जग्गा तथा वरिपरीको सार्बजनिक जग्गा अतिक्रमण गरी पक्कि घर बनाउन सुरु गरेको स्थानीय अर्जुन थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सर्बदलिय बैठक बसेपछि केही समय पक्कि संरचना बनाउन रोकिएको थियो । त्यती बेला पिल्लर मात्रै ठडिएको थियो । दुई÷तीन दिन भयो, अहिले त छत पिटेर घर बनाउन फेरी सुरु भएको छ ।”
सुलिभञ्ज्याङ पर्यटकिय स्थल बनाउन सकिने संभावना बोकेके ठाँउ भएकोले अहिले व्यक्तिलाई कंक्रिट घर बनाउन दिदा भोली हटाउन सकिदैन भन्ने चिन्ता भएको स्थानीय नेकपाका गाँउपालिकाका ईन्चार्ज केपी पोख्रेलले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “उक्त मन्दिरको नाममा गुठि र सार्बजनिक जग्गा रहेको छ । मन्दिरकै नाममा उदयपुरमा समेत दुई विगाहा गुठी जग्गा अहिले पनि रहेको छ ।” उहाँका अनुसार उक्त मन्दिर राणाकालिन समयमा निर्माण भएको हो । कोत पर्व हुदा जंगबहादुरका सिपाही भिम आले र राम आलेले धेरै मानिसको टाउको गिडेर फालेपछि त्यसको प्रायश्चित गर्न उक्त ठाँउमा आई उक्त महादेवको मन्दिर स्थापना गरेको बताईएको छ ।
पोख्रेलका अनुसार गाविस हुदा सर्बदलिय बैठकले अस्थायी टहरा बनाउन दिई भाडा लगाउने र गाविसले आवश्यक ठानेको बखत जतिसुकै बेला हटाउन सकिने निर्णय गरी चार जनालाई अस्थायी घर बनाउन भाडामा दिएको थियो । ‘त्यो भाडा पनि पहिलेदेखि नै तिरेको छैनन्’ उहाँले भन्नुभयो, “अहिले स्थानीय उद्धब घिमिरेले पक्कि घर बनाउन सुरु गरेका छन् । उनले पक्कि घर बनाउदा त्यसैको सिको गरेर अरुले पनि बनाउने हुन्की भन्न डर हो ।”
उक्त वडाका अध्यक्ष पुष्कर बराल पनि आफुले नक्सा हेर्दा उक्त जग्गा गुठिको नभएको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अमिन ल्याएर पनि नाप्यौ । तर गुठिमा पर्दो रहेन छ । ऐलानी पर्ति जग्गा भएको पाईयो ।”
जग्गा भाडामा दिने अधिकार वडालाई नभएकोले त्यो बिषयमा गाँउपालिका नै जान्ने भन्दै उहाँ पन्छिनु भयो । गाविस हुदाको बेला आठ मिटर लम्बाई र चार मिटर चौडाई भएको जग्गा बार्षिक एक हजार रुपैया भाडामा दिएको उहाँले सुनाउनुभयो ।