सिन्धुली,९ साउन – कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले स्यानिटरी प्याड खरिद तथा वितरण प्रकरणमा आफूसमेत अ न्यायमा परेको बताउनुभएको छ । उपप्रमुख देवकोटाले महिला भएकै कारणले खरिद समिति गठन, वितरण र अनुगमनमा सहभागी नगराएर वि भेद गरिएको गुनासो गर्नुभयो ।
प्रदेशको कार्यविधिमा नगरपालिकाका उपप्रमुखको संयोजकमा स्यानिटरी प्याड बितरण समिति गठन गर्नुपर्ने व्यवस्था छ । न्यायिक समितिको संयोजक समेत रहनुभएकी देवकोटाले भन्नुभयो, “असार २६ गते नगर प्रमुख खड्गबहादुर खत्रीको कार्यकक्षमा प्याड खरिद समिति गठन भएको रहेछ । मलाई थाहा दिइएन ।”
उहाँले बैठकमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगर शिक्षा प्रमुख शंखर लुइटेलसहितको समिति गठन हुँदा आफूलाई जानकारी नदिइएको बताउनुभयो । प्याड खरिदका लागि समिति गठनमा किन आफूलाई नबोलाएको भनेर नगर प्रमुख खड्गबहादुर खत्रीलाई सोध्दा कुनै पनि जवाफ नदिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, यहि प्रश्न प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई उपप्रमुख देवकोटाले सोध्नुभएको थियो । अधिकृत सुवेदीले “तपाई अनुगमनको मात्रै संयोजक हो, खरिद गर्ने काम तपाईको होइन” भन्दै त्यही कारणले बैठकमा नडाकेको रुखो जवाफ फर्काएका उहाँलै बताउनु भयो । उहाँले भन्नुभयो, “प्याड खरिद गरि विद्यालयमा वितरण गरिसकेपछि कार्यविधिमा मात्रै मलाई हस्ताक्षर गर्न ल्याइयो ।”
उपप्रमुख देवकोटाले स्यानिटरी प्याड वितरण कार्यविधिमा कुनै हालतमा हस्ताक्षर नगर्ने अडान लिनुभएको छ । उहाँले प्याड वितरणपछि अनुगमनका लागि आफू नगएको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्याड खरिदका लागि समिति गठन, खरिद र वितरणबारे आफूलाई केही जानकारी नभएको तर अन्तिममा प्याड वितरण गर्न जाँदाको भत्ता बुझिएको कार्यविधिमा म किन र कसरी हस्ताक्षर गरौं ?”
स्यानिटरी प्याड खरिदका लागि ४७ लाख बजेट प्राप्त भए पनि २२ लाख रुपियाँको टेण्डर खुलाइएको नगरपालिकाले जनाएको छ ।