सिन्धुली, ८ साउन – प्रदेश प्रहरी तालीम केन्द्र बाग्मति प्रदेशमा केन्द्र दुधौली, सिन्धुलीमा सञ्चालित २३४ कार्यदिन अवधिको प्रहरी जवान आधारभूत तालिम ६–२०० औं समूहका अन्तर्गत बुधबार पहिलो समूहमा २२० जना दीक्षित भएका छन् ।

विसं २०७६ साउन २० गतेबाट विधिवत्रुपमा उद्घाटन भई सञ्चालनमा आएको तालीममा सहभागी प्रशिक्षार्थी मध्येमा पुरुष ३६७ र महिला १०६ जना गरी कुल ४७३ जना उत्तीर्ण भएका छन् । दीक्षित भएका प्रहरी जवानलाई बाग्मति प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले दर्जानी चिह्नद्वारा शु–सोभन गर्नुभएको थियो ।

समारोहमा प्रत्येक प्रहरी कर्मचारीले आ–आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, वीरताको प्रतीक खुकुरी र प्रहरी झण्डालाई साक्षी राखी आफू सदैव कर्तव्य निष्ठ भई भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी शपथ लिएका थिए । सो अवसरमा प्रशिक्षार्थीबाट कवाज प्रदर्शन गरिएको थियो ।

तालीममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिको थियो । दीक्षित भई जान लागेका प्रशिक्षार्थीलाई निर्देशन दिँदै प्रहरी नायब महानिरीक्षक लामाले तालीम अवधिमा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा इमान्दारीपूर्वक लागू गर्न आग्रह गर्नुभयो ।

प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहनसमेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले विषम परिस्थितिमा समेत धैर्यताका साथ तालिम सञ्चालन गरी दीक्षित गराउन अहोरात्र खटिने यस केन्द्रका समादेशक लगायत सम्पूर्ण प्रशिक्षक वर्गलाई धन्यवाद दिनु भयो ।

प्रदेश प्रहरी तालीम केन्द्र बाग्मति प्रदेशका समादेशक प्रहरी वरीष्ठ उपरीक्षक सन्दिप भण्डारीलेसफलतापूर्वक तालीम सम्पन्न गरेका प्रशिक्षार्थीलाई व्यावसायिक तथा व्यक्तिगत जीवन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले प्रशिक्षणको दौरानमा प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, अदम्य साहस, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रहरी जवानहरुलाई धन्यवाद दिंदै उहाँहरुको व्यवसायिक, पारिवारिक तथा व्यक्तिगत जीवनको सफलताको शुभकामाना दिनु भयो । उहाँले उपस्थित सम्पूर्ण अतिथिहरुको गरिमामय उपस्थितिको लागि धन्यवाद ज्ञापन गर्नु भयो ।

केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

समापन कार्यक्रममा बागमती प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती सुमी लामा, बर्दबहादुर गण ठुलिटार व्यारेकका गणपति प्रमुख सेनानी बिजय थापा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देल,स्थानीय जन प्रतिनिधि, यस केन्द्रको हाता भित्र निर्माणाधिन प्रशिक्षार्थी व्यारेकका निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।



