शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

जनता माविमा विद्यालय सिन्धुलीमा व्यवस्थान समितिबाटै तालाबन्दी

मंगलवार , श्रावण ६, २०७७

सिन्धुली,६ साउन – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा निमित्त प्रधानाध्यापक नियुक्तिको विरोध गर्दै अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिले तालाबन्दी गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति, अभिभावक संघसहित सर्वपक्षीय तथा सर्वदलीय निर्णयका आधारमा निमित्त प्रधानाध्यापक नियुक्तिको नगरी गाउँपालिकाले अर्कै व्यक्तिलाई नियुक्ति दिएको भन्दै अभिभावकहरुले तालाबन्दी गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रम्तेलले प्रधानाध्यापक नियुक्तिका लागि गरिएको सिफारिसअनुसार नियुक्ति नदिएको भन्दै अभिभावकले प्रशासनिक कक्षमा तालाबन्दी गरेको बताउनु भयो ।

असार २७ गते गाउँपालिकाले सुमन कोइरालालाई प्रधानाध्यापक नियुक्ति गरी पठाएको थियो । उहाँको नियुक्तिसँगै ६ महिनादेखि रोकिएको शिक्षक तथा कर्मचारीको तलबसमेत खुवाएको थियो ।

विद्यालय व्यवस्थापन समितिले भने रमेशकुमार बर्मालाई प्रधानाध्यापक नियुक्तिका लागि सिफारिस गरेको थियो । निमित्त प्रधानाध्यापक नवराज थापाले राजीनामा दिएसँगै बर्माले प्रधानाध्यापकको काम गर्दै आउनु भएको अध्यक्ष रम्तेलले बताउनु भयो ।

पठनपाठन नरोक्ने भन्दै रम्तेलले अभिभावक तथा व्यवस्थापन समितिसँग कुनै परामर्श नगरी नवनियुक्त निमित्त प्रधानाध्यापक कोइरालाले काम गरेकाले प्रशासनिक रुपमा गम्भीर त्रुटिहरु हुने देखिएको भन्दै तालाबन्दी गरिएको बताउनु भयो ।

प्रधानाध्यापक नियुक्तिका विषयमा अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले असार २ गते सुमन कोइरालालाई बैठकमा बोलाइएको थियो । तर उहाँ सो बैठकमा अनुपस्थित भएको र असार ४ गते पुनः बैठक राखी बोलाउँदा समेत कोइराला अनुपस्थित भएका अध्यक्ष रम्तेलले बताउनु भयो । कोइराला बैठकमा समेत नआएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले बर्मालाई निमित्त प्रधानाध्यापकका लागि गाउँपालिकामा सिफारिस गरेको उहाँले बताउनु भयो ।

बर्माले २०५५ सालदेखि शिक्षण पेशा अपनाउँदै आएको भन्दै अध्यक्ष रम्तेलले बरिष्ठताका आधारमा पनि बर्मा नै रहेको जिकिर गर्नु भयो ।

तर, गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले भने जनता मावि खनियाखर्कमा वरिष्ठताका आधारमा सुमन कोइरालालाई निमित्त प्रधानाध्यापक तोकिएको बताउनु भयो ।

प्रधानाध्यापक नियुक्तिमा ढिलाईका कारण सो विद्यालयका शिक्षक तथा कर्मचारीले ७ महिनादेखि तलब खान नपाएको भन्दै अध्यक्ष कार्कीले शिक्षक बर्मा वरिष्ठताका आधारमा तेस्रो रहेकाले पनि सिफारिस अनुसार प्रधानाध्यापक नियुक्त गर्न नसकिएको स्पष्टपार्नु भयोे ।

प्रतिक्रिया