शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लोकसेवाले योग्य ठहर्‍याएकालाई सिन्धुलीको फिक्कल गाँउपालिकाले अयोग्य ठहर्‍यायो

आइतवार , श्रावण ४, २०७७

सिन्धुली,४ साउन – यहाँको फिक्कल गाँउपालिकाका अध्यक्षले गाँउपालिकामा कार्यरत एक इन्जिनियरलाई फिर्ता पठाउनु भएको छ । असार मसान्त सकिएलगत्तै कार्यपालिकाको बैठकबाट निर्णय गराएर इन्जिनियर विष्णुप्रसाद कडेललाई फिर्ता पठाएका हो ।

इन्जिनियरले गाँउपालिकामा रहेर गर्नुपर्ने सहयोग तथा कामको नतिजा प्रति सन्तोषजनक नभएकाले फिर्ता पठाइएको गाँउपालिकाले जनाएको छ । “उपभोक्ता र जनप्रतिनिधिहरु फरक प्रकृतिको व्यवहारको कारण तपाईलाई यस गाँउपालिकामा सो पदमा रहि काम गर्न अयोग्य ठहर गर्दै साउन १ गतेदेखि हाजिर नगराई कामकाज नलगाउने मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएकाले फिर्ता पठाइएको व्यहोरा जानकारी गरिन्छ”, इन्जिनियर कडेललाई दिइएको पत्रमा भनिएको छ ।

तर इन्जिनियर कडेलले भने आफुले कानुन अनुसार काम गरेपनि जनप्रतिनिधिको स्वार्थमा काम नगरिदिदा विभिन्न आरोप लगाएर कानुन विपतरित आफुहलाई फिर्ता पठाएको बताउनु भयो । मलाई गाँउपालिकाले अयोग्य ठहर गर्न विधि हुदैन भन्ने लाग्छ, उहाँले भन्नु भयो, “कामै नभएका योजनामा विल बढाएर नबनाएको भन्दै मलाई फिर्ता पठाएको चिठि थमाएका हुन् ।”

गाँउपालिकाकी उपप्रमुख पार्वती सुनुवारले गाँउपालिकाको कार्यसम्पादनमा सहयोग नगरेकाले फिर्ता पठाएको बताउनु भयो । उपभोक्ता समितिलाई दुःख दिने स्थानिय सरकारको निर्देशन विपरित काम गर्ने उहाँका धेरै कमीकमजोरी देखियो, उहाँले भन्नु भयो,  “स्थानिय सरकारले सेवाग्राहीको काम छिटो छरितो गर्नुपर्नेमा उनको कारण ढिलो हुने भएपछि फिर्ता पठाएका हौ ।” उहाँले इन्जिनियर कडेलले सुकिलामुकिला सेवाग्राहीको मात्रै काम गरेको र ग्रामिण क्षेत्रका स्थानिय उपभोक्तालाई विभिन्न वाहनामा झुलाएकाले फिर्ता पठाइएको बताउनु भयो ।

गाँउपालिकाका प्रवक्ता राजु बरालले इन्जिनियरले राजनीतिक पुर्वाग्रह राखेर काम गरेकाले फिर्ता गर्नुपरेको जनाउनु भयो । कानुन र विधि सम्वत छ वा छैन पछि सोचौला बुझौला तर स्थानिय सरकारलाई असहयोग गरेपछि हामीले फिर्ता गर्न बाध्य भयौ । इन्जिनियरले समयमा काम नगर्दा विकासमा आएको अढाइ करोड बढी रकमको काम हुन नसकेको भन्दै उहाँले उपभोक्ता समितिसँग कमिसन समेत इन्जिनियरले माग्ने गरेको बताउनु भयो । तर गाँउपालिकाले गरेको उक्त निर्णयको सवत्र विरोध भएको छ ।

इन्जिनियर तथा कर्मचारीहरुले गाँउपालिकाले नियमविपरित अयोग्य ठहर गरेर फिर्ता पठाएको आरोप लगाएका छन् । लोकसेवा आयोगले योग्य ठहराएर नियुक्त गरेका इन्जिनियर अयोग्य भन्न कसरी मिल्छ, एक कर्मचारीले भने, “जनप्रतिनिधिको दबाबमा कामै नभएका योजनालाई भुक्तानी दिन सकिदैन भन्दा फिर्ता पठाइएको हो ।”

इन्जिनियर फोरम सिन्धुलीका संयोजक इन्जिनियर आस्तिक बरालले लोक सेवाले योग्य भनेको इन्जिनियरलाई स्थानिय सरकारले अयोग्य ठहराउन नमिल्ने बताउनु भयो । इन्जिनियर फोरमले गलत प्रबृत्तिको विकास गर्न फिक्कल गाँउपालिका लागेको भन्दै आफुहरु संघर्षमा उत्रिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले मन्त्रालयले खटाएको पालिकामा कर्मचारीले काम गर्न पाउनुपर्ने मान्यता जिल्ला प्रशासनको रहेको बताउनु भयो । कर्मचारीले गैरकानुनी काम गरेभन्दा बाहेक तोकिएको कार्यालयमा काम गर्न पाउनुपर्छ भन्ने जिल्ला प्रशासनको मान्यता हो, उहाँले भन्नु भयो ।

 

 

यसैबिच इन्जिनियर फोरम सिन्धुलीले कर्मचारीले गल्ति कमजोरी गर्दा कानुनी कारवाही गर्ने आधार हुँदा हुदै पनि कर्मचारीमाथि गाँउपालिकाले अपमान गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै फोरमले गाँउपालिकाले कानुन विपरित दबाब श्रृजना गरि कर्मचारकिो मनोबल गिराउने गरि गैर कानुनी कार्य गराउन बाध्य बनाउन दबाब दिएको र इन्जिनियरले नमानेपछि गम्भिर अपमान गरेको बताएका छन् । इन्जिनियर फोरमले इन्जिनियर कडेललाई कार्यालयमा सहज रुपमा काम गर्न सक्ने बातावरण बनाउनुपर्ने माग नेपाल सरकारसँग गरेका छन् । उनिहरुले गाँउपालिकाले निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनका चरणअनुसार साउन ४ गते जिल्ला प्रशासन सहित सबै स्थानिय तहमा ज्ञापन पत्र बुझाउने, ७ गतेदेखि हातमा कालो पट्टी बाधेर काम गर्ने, ११ गते सबै पालिकामा १ घण्टा धर्ना दिने १४ गतेदेखि सरकारी तथा गैरसरकारी सबै क्षेत्रमा प्राविधिक कार्य बन्द गर्ने गरि चरणबद्ध आन्दोलनको घोषणा गरिएको संघर्ष समितिका संयोजक समेत रहेका इन्जिनियर आस्तिक बरालले जानकारी दिए ।

प्रतिक्रिया