शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा एक अर्ब रुपैयाभन्दा बढी बजेट फ्रिज

आइतवार , श्रावण ४, २०७७

सिन्धुली,४ साउन – सिन्धुली जिल्लामा गत आर्थिक बर्ष ०७६/०७७ मा संघिय र बाग्मती प्रदेश सरकारबाट बिनियोजन भएको एक अर्ब १३ करोड ६९ लाख १४ हजार रुपैया बजेट खर्च हुन नसकी फ्रिज भएको छ ।

जिल्लाका स्थानीय तह, संघिय सरकार तर्फका ३२ वटा सरकारी कार्यालय र प्रदेश सरकार तर्फका ११ वटा सरकारी कार्यालयले उक्त रकम खर्च गर्न नसकि फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

निकासा भएको रकम मध्ये पनि झण्डै १७ करोड रुपैया बजेट खर्च हुन नसकी भर्खरै बैंक दाखिला भएको र उक्त रकमलाई समायोजन गर्न बाँकी रहेकोले फ्रिज भएको रकम अझ बढ्ने कोष नियन्त्रक तथा सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार गत आर्थिक बर्ष ०७६÷०७७ मा संघिय र प्रदेश सरकारको गरी सिन्धुली जिल्लाको कुल बजेट १० अर्ब ६१ करोड ५० लाख ७८ हजार रुपैया रहेकोमा नौ अर्ब ४७ करोड ८१ लाख ६४ हजार रुपैयामात्र निकासा भएको थियो । यो निकासा भएको बजेट मध्ये पनि करिब १७ करोड रुपैया रकम खर्च गर्न नसकि भर्खर बैंक दाखिला भएको छ । बाकी रकम खर्च गर्न नसकेकाले निकासा नभएको हो ।

संघिय सरकारको चालु र पूजीगत तर्फगरी आठ अर्ब ५३ करोड ८५ लाख ८४ हजार रुपैया बजेट रहेकोमा सात अर्ब ८८ करोड तीन लाख ३३ हजार रुपैया निकासा भएको थियो । यो मध्ये पनि चालु तर्फ सात अर्ब ६३ करोड ३९ लाख ५२ हजार रुपैया बजेट रहेकोमा सात अर्ब १९ करोड ६१ लाख २१ हजार रुपैया खर्च देखिएको सूचना अधिकारी दाहालले सुनाउनुभयो । खर्च भएको बजेट समायोजन गर्न बाँकी भएकाले यो बजेटमा १७ करोड रुपैया जति खर्च भएको बजेट घट्ने उहाँको भनाई छ ।

“संघिय सरकारबाट चालु खर्च तर्फ प्राप्त हुने बजेटमा गत बर्ष ९४ दशमलब ४६ प्रतिशत प्रगती देखिएकोमा यो बर्ष अहिलेसम्म ९४ दशमलब २६ प्रतिशत प्रगति देखिएको छ,” कोष नियन्त्रक तथा सूचना अधिकारी दाहालले भन्नुभयो, “खर्च हुन नसकेको बजेट समायोजन गर्न बाँकी रहेकोले यसमा अझै दुई प्रतिशत जति प्रगती घट्छ ।”

त्यस्तै संघिय सरकारबाट प्राप्त हुने पूजीगत बजेट एक अर्ब १७ करोड ४६ लाख ३२ हजार रुपैया रहेकोमा निकासा ६८ करोड ४२ लाख १२ हजार रुपैया भएको छ । यो बजेटमा गत बर्ष ७१ दशमलब ५७ प्रतिशत प्रगती रहेकोमा यो बर्ष ५८ दशमलब २५ प्रतिशत मात्रै प्रगती देखिएको सूचना अधिकारी दाहालको भनाई छ । संघिय सरकारतर्फको चालु तथा पूजीगत दुवै बजेटको यो बर्ष समग्रमा ८७ दशमलब ५५ प्रतिशत खुद प्रगती देखिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बाग्मती प्रदेश सरकारको गत आर्थिक बर्ष ०७६÷०७७ मा चालु र पूजीगत तर्फगरी दुई अर्ब सात करोड ६४ लाख ९४ हजार रुपैया बजेट रहेकोमा एक अर्ब ५९ करोड ७८ लाख ३१ हजार रुपैया मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो मध्ये पनि चालु तर्फ ८८ करोड १६ लाख ५८ हजार रुपैया बजेट रहेकोमा ५९ करोड ४३ लाख ५९ हजार रुपैया खर्च देखिएको छ । यसमा पनि खर्च भएको बजेट समायोजन गर्न बाँकी रहेको छ । यो बर्षको प्रगती ६७ दशमलब ४१ देखिएको र गत बर्षको प्रगती ७३ दशमलब शुन्य तीन प्रतिशत रहेको थियो ।

प्रदेश सरकारकै पूजीगत बजेट एक अर्ब १९ करोड ४८ लाख ३६ हजार रुपैया रहेकोमा एक अर्ब ३४ लाख ७२ हजार रुपैया मात्रै निकासा भई खर्च भएको देखिएको कार्यालयले जनाएको छ । यो बजेट गत बर्षको तुलनामा यो बर्ष प्रगती बढी देखिएको छ । गत बर्ष ५६ दशमलब ७१ प्रतिशत खर्च रहेकोमा यो बर्ष ८३ दशमलब ९८ प्रतिशत प्रगती देखिएको सूचना अधिकारी दाहालले बताउनुभयो ।

यो बर्ष सडक, सिंचाई जस्ता विकास निर्माणको काम बढी भएकोले पनि प्रगती बढेको हुन सक्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया