सिन्धुली,१ साउन – सिन्धुली अस्पतालमा बिहिबारदेखि नवनिर्मित सात शैयाको प्रसुती वार्ड सञ्चालन भएको छ । उक्त अस्पतालमा गर्भवतीलाई शल्यक्रियापछि राखिने वार्डको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले उदघाटन गर्नु भएको भएको हो । उक्त वार्डको उदघाटनपछि निरीक्षण गर्दै मेयर खत्रीले कमलामाई नगरपालिकामा अझै पनि घरमा नै प्रसुती गराउने क्रम रहेको भन्दै त्यस्ता व्यक्तिहरुलाई पनि अस्पतालको पहुचमा ल्याउन कमलामाईले आवश्यक सहयोग गर्ने भनाई राख्नुभयो ।

नगरपालिकाले बर्थिङ सेन्टरको स्थापना, शहरी स्वास्थ्य क्लिनिक लगायतलाई व्यवस्थित गर्दै सिन्धुली अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रि लगायत गुणस्तरीय सेवा प्रवाहमा आवश्क पर्ने सम्पुर्ण प्रकारको सहयोग गर्दै आएको र भोलीका दिनमा पनि गर्ने उहाँले बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले उक्त वार्ड सञ्चालन गर्न संघिय ससर्त बजेट १३ लाख, उज्वलविक्रम थापाबाट प्राप्त दुई लाख, सामुदायिक वन उपभोक्ता महासंघबाट प्राप्त एक लाख र विजय कुबरबाट प्राप्त २० हजार रुपैंया प्राप्त भएको बताउनुभयो । उक्त रकमलाई जम्मा गरि टेण्डरबाट १६ लाख ११ हजारमा सात शैयाको प्रसुती वार्ड २० दिनमा टेण्डर प्रक्रियाबाट निर्माण गरिएको बताउनुभयो ।यस वार्डमा कमलामाई नगरपालिकाले १० लाख बराबरको आवश्यक सामाग्री उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पोख्रेलले सिन्धुली अस्पतालका केही भौतिक संरचना पुनःनिर्माण्का लागि डाक्टरहरुको क्वाटर लगाएत अन्य संरचना भत्काउनु पर्ने भएकाले साविक जिल्ला विकास समितिको भवन अस्पतालले केही समयलाई उपभोग गर्न पाउने व्यवस्था मिलाई दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।