शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दश वर्षमा पनि बनेन सिन्धुलीको कमला नदीमा पुल

बिहिवार , श्रावण १, २०७७

मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा निर्माणाधिन पुल ।

सिन्धुली,२ साउन –मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्ष अघि निर्माण शुरु भएको पक्कि पुल अझै सम्पन्न हुन सकेको छैन् । कमला नदीमा निर्माणाधिन पुल समयमा नै सम्पन्न नहुदा दुधौली नगरपालिका–२ रतनपुरका वासिन्दा जोखिम मोलेर बाढीमा हेलिएर नदी वारपार गर्न बाध्य छन् । वर्षातको समयमा कमलानदी वारपार गर्दा पाइने हैरानीबाट दिक्क भएका स्थानीयहरु पुलका पिल्लरहरु हेरेर चित्त बुझाउने काम गरिरहेका छन् । स्थानीयका अनुसार समयमा पुल निर्माण सम्पन्न नहुदा पुलका पिल्लरहरु धसिदै गएका छन् । देशै भरि काम नगरेर चर्चा कमाएको पप्पु कन्स्ट्रक्सन र लुम्विनी निर्माण सेवा जेभिले उक्त पुलको निर्माण गर्ने ठेक्का पाएका थिए । पप्पुको तीव्र विरोध भएपछि जेभिमै रहेको लुम्विनीले काम थालेको थियो । धिमा गतीमा पुलको काम हुदा निर्माण सम्पन्न कहिले हुने, कुनै टुंगो नभएको स्थानीय रेखराज दाहालले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार तामझामका साथ शिलन्याश भइ काम शुरु भएको पक्कि पुलले कमला पारिका वासिन्दालाइ हर्षित बनाएको थियो । तर यतिका वर्षसम्म पनि पुलको काम आधा नसकिदा उनीहरुमा बिस्मत छाएको छ । विश्व वैंकको सहयोगमा आव ०७२/०७३ मा निर्माण सम्पन्न हुने गरि ३२ करोडको लागतमा पा“चसय ४६ मीटर लम्वाइ रहेको उक्त पुलको पिल्लरको काम सकिएको सात वर्ष बितिसकेको छ हेटौंडा—सिन्धुली—गाईघाट—चतरा (मदन भण्डारी लोकमार्ग) बैकल्पीक सडक खण्ड अन्तर्गत पर्ने उक्त पुल डबल लेनको छ । दुधौली नगरपालिका मेयर घनश्याम राउत निर्माण कम्पनीलाइ ताकेता गर्दा –गर्दा आजित भएको बताउनुहुन्छ । “एउटाले काम गरेन भनेर अर्कालाइ जिम्मा दिएको, कामको गती उस्तै छ,” उहाँले भन्नुभयोे, “हामीले अब एक वर्ष भित्रमा सम्पन्न गर्न भनेका छौं ।” सडक आयोजनाका अनुसार २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु–लुम्वीनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेको थियो । उनीहरुको आन्तरिक सहमति अनुसार उक्त पुल निर्माण भने पप्पु कन्ट्रक्सनले एक्लै गर्दै आएको थियो । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकि अलपत्र बनाएपछि जेबीमै रहेको लुम्बीनी कन्ट्रक्सनले पुल बनाउने जिम्मा लिएको थियो । लुम्बिनी कन्ट्रक्सनका ठेकेदार शंकर राउतका अनुसार पुल निर्माणको काम अहिले ७० प्रतिशत सकिएको छ । लकडाउनको घोषणासँगै भारतबाट ल्याउनु पर्ने निर्माण सामग्री ल्याउन नपाएर अहिले निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय निर्माण सामग्री भारतमा मात्र पाईन्छ । नेपालमा पाईने निर्माण सामग्री ल्याउन त कुनै गाह्रो छैन । कतिपय निर्माण सामग्री भारतमा मात्र भएकोले काम रोकिएको हो ।” अब आउने फागुन महिनासम्म निर्माण कार्य सक्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । ठेकेदार राउतका अनुसार पुलका १४ वटा स्पान मध्ये छ वटाको काम सकिएको छ । दुई वटा स्पानको आधा मात्रै काम भएको छ । अरु छ वटा स्पानमा भने काम नै सुरु भएको छैन ।  

प्रतिक्रिया