सिन्धुली,३१ असार – कमलामाई नगरपालिका–३ चपौलीका किसान चेतप्रसाद गौतम खेतमा रोपाइँ गर्न युरिया मल खोज्दै जिल्ला सदरमुकाम सिन्धुलीमाढी आई पुग्नुभयो । उहाँले स्थानीय बजारमा रासायिनक मल बुझ्नु भयो, कतै पाउन सक्नु भएन ।
त्यसपछि उहाँको गन्तब्य बन्यो, कृषि सामग्री कम्पनी पुग्ने । त्यहाँ पनि कर्मचारीले उहाँलाई एक महिनादेखि गोदाम खाली भएको सुनाए । उहाँले भन्नुभयो, “मकै भाँचेपछि भर्खर खेतमा रोपाइँ गर्न सुरु गरेको थिए । युरिया मल हाल्न पाए छिट्टै रोपो हरियो फिर्ने थियो, उब्जाउ पनि राम्रै हुने आस थियो । मुख्य खेतीको सिजनमा पनि मल पाईएन ।” अब निरास भएर घर फर्किनुको बिकल्प नभएको उहाँले गुनासो गर्नुभयो ।
कृषि सामग्री कम्पनीले स्थानीय कृषि सहकारी संस्थामार्फत किसानलाई मल बिक्रि गर्ने व्यवस्था मिलाए पनि लकडाउनका कारण सिन्धुली जिल्लामा मुख्य खेतीको सिजनमा पनि किसानले चाहिएजति रासायनिक मल पाउन सकेको छैनन् । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले पनि सिन्धुली, रामेछाप र दोलखा जिल्लामा रासायनिक मल बिक्री गर्ने जिम्मेवारी पाएपनि अभावमा पु¥याउन नसकेको जनाएको छ ।
रासायनिक मलकै अभावमा यो बर्ष माग अनुसार दोलखा र रामेछापमा पठाउन नसकिएको उक्त कम्पनिका निमित्त कार्यालय प्रमुख सन्तोषकुमार यादवले जानकारी दिनुभयो । “क्षेत्रीय कार्यालय बिरगंजमा नै मौज्दात मल सकिएकाले अभाव देखिएको हो,” उहाँले भन्नुभयो, “मलको माग गरेको भएपनि कहिले आउने हो ठेगान छैन ।” जेठ मसान्तदेखि नै गोदाम खाली रहेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार डिएपी बेला बेलामा अलि अलि आएपनि मागेजति पुर्याउन सकिएको छैन । साउन १५ गतेपछि मात्रै अब रासायनिक मल आउछ । मल सकिएर गोदाम नै रित्तिएको उहाँले बताउनुभयो । कम्पनिले यो बर्ष साउन महिनादेखि सम्म युरिया हालसम्म एक हजार ८९४ दशमलब ३५० मेट्रिक्टन, डिएपी ५२५ दशमलब ४५० मेट्रिक्टन र पोटास ३६ दशमलब ७५० मेट्रिक्टन स्थानीय कृषि सहकारी संस्था मार्फत बिक्रि गरेको जनाएको छ ।
यो मध्ये सिन्धुली जिल्लामा युरिया एक हजार ९३ दशमलब चार मेट्रिक्टन, डिएपी ३०३ दशमलब चार मेट्रिक्टन र पोटास १६ दशमलब २५० मेट्रिक्टन बिक्री भएको छ । रामेछाप जिल्लामा युरिया ४१४ दशमलब ३५० मेट्रिक्टन, डिएपी ९६ दशमलब एकसय मेट्रिक्टन र पोटास चार दशमलब १५० मेट्रिक्टन पठाईएको छ । त्यस्तै दोलखामा युरिया ३६८ दशमलब छ सय मेट्रिक्टन, डिएपी १२५ दशमलब ९५० मेट्रिक्टन र पोटास १६ दशमलब ३५० मेट्रिक्टन बिक्री गरिएको उक्त कम्पनीको भनाई छ ।
उक्त कम्पनीले मल बिक्रेता सूचीमा दर्ता प्रमाणपत्र भएको, सम्बन्धित वडाको सिफारिस, मल मागको बैठक निर्णयको आधारमा स्थानीय कृषि सहकारी संस्थालाई सुलभ मूल्यमा रासायनिक मल बिक्रि बितरण गर्दै आएको जनाएको छ । कम्पनिका अर्का एक कर्मचारीका अनुसार एउटा सहकारी संस्थाले एक पटकमा कम्तीमा पनि सय बोरा माथि नै मल मागेका छन् । सबै तिर अलि–अलि पुर्याउन ३०/३५ बोराका दरले दिदै आएको छ ।
सिन्धुली जिल्लामा ५४ वटा, रामेछाप जिल्लामा १३ वटा र दोलखा जिल्लामा १२ वटा सहकारी संस्थाले किसानलाई मल बिक्री गर्दै आएको कृषी सामग्री कम्पनीले जनाएको छ । कमलामाई नगरपालिका–४ ढुंग्रेबास स्थित कमलामाई बहुउद्धेश्यिय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ चौलागाई रासायनिक मलको निकै हाहाकार नै भएको बताउनुहुन्छ । “किसान दैनिक मल खोज्दै आउछन्, सामग्री कम्पनीमा नै छैन”, उहाँले भन्नुभयो ।
गाँउमा सबै किसानले अझै मल नपाएको उहाँको भनाई छ । कृषि सामग्री कम्पनीले प्रतिबोरा युरिया ७७४ रुपैया, डिएपी दुई हजार २३९ रुपैया र पोटास एक हजार ६१५ रुपैयामा सहकारीलाई युरिया मल बिक्रि गर्ने र सहकारीले लोडअनलोड तथा ढूवानी खर्च जोडेर सामान्य कमिसन लिएर किसानलाई मल बिक्रि गर्दै आएका छन् ।
गोलान्जोर गाँउपालिका–१ स्थित डुडभञ्ज्याङ कृषि सहकारी संस्थाका बिक्रेता सोमनारायण मानन्धर रासायनिक मलको निकै हाहाकार नै भएको बताउनुहुन्छ । कृषि सामग्री कम्पनीमा रासायनिक मल लिन आउनु भएका बिक्रेता मानन्धरले गाँउमा रासायनिक मलकौ निकै माग रहेको र आफुले मागे जति पु¥याउन नसकेको बताउनुभयो । यतिखेर गाँउमा धानमा हाल्न रासायनिक मलको माग बढ्दो रहेको उहाँको भनाई छ ।