शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको एउटा बोर्डिङ स्कूलले दुई महिनाको फि मिनाहा गर्‍यो

सोमवार , आषाढ २९, २०७७

सिन्धुली,२९ असार – सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शैक्षिक गुठीको रुपमा सञ्चालित विद्याश्रम बोर्डिङ स्कूलले दुई महिनाको मासिक शुल्क मिनाहा गरेको छ ।

सदरमुकामकै अन्य नीजि स्कूलले लकडाउनको समयमा बन्द अवस्थामा रहेको समयको पनि मासिक शुल्क असुलि रहेको गुनासो आई रहेको बेला उक्त बोर्डिङ स्कूलले भने बैशाख र जेठ महिनाको मासिक शुल्क मिनाहा गरेको जनाएको छ ।

केही दिनअघि भएको स्कूल सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको उक्त स्कूलका प्रिन्सिपल पोषक पौडेलले जानकारी दिनुभयो । यस्तै लकडाउनका कारण अहिले विद्यालय वन्द रहेकोले विभिन्न टोलमा १३ ठाँउमा सिकाई केन्द्र स्थापना गरी विद्यार्थीलाई लकडाउन गृह कार्य दिदै आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिकाई केन्द्रमा विद्यार्थीलाई गृह कार्यदिन र सिकाउन दिन बिराएर शिक्षक जाने गरेका छौं । दिउसो ११ बजेखि १ बजेसम्म टोलका विद्यार्थीलाई भेला गरी सामाजिक दुरी कायम गरेर उनीहरुलाई पढाउने गरेका छौं ।”

त्यस्तै विद्यालयमा कार्यरत १८ जना शिक्षकलाई तलब ५० प्रतिशत पुरानो बचतबाट र बाँकी ५० प्रतिशत विद्यार्थी भर्ना गरेपछि दिने गरी व्यवस्था गरिएको स्कूलले जनाएको छ । शैक्षिक गुठीको रुपमा सञ्चालित उक्त स्कूलमा तीन सय जनाभन्दा माथि नै विद्यार्थीहरु अध्ययनरत रहेका बताइएको छ ।

प्रतिक्रिया