शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा असारे विकासले बनायो विचल्ली

आइतवार , आषाढ २८, २०७७

असारे विकास : सिन्धुलीको गोलन्जोर गाँउपालिका–५ मा खनियाखर्क–तीनकन्या सडक अन्तर्गत सडक स्तरोन्नतीको काम हुदै ।

सिन्धुली,२८ असार – बिनियोजित रकम सक्नका लागि जथाभावि सडक निमार्ण गरिदा सिन्धुलीको सुनकोसी गाँउपालिका–४ भोर्लेनीकी माइली तामाङ बिचल्लिमा पर्नु भएको छ । भोर्लेनीबाट कोटगाँउ जाने पाँच किलोटिमर लम्बाईको सडक निर्माण गर्ने क्रममा डोजरले भत्काएको माटो फाल्दा उहाँको सबै जग्गा पुरिएको छ । खेतयोग्य जमिन माथि पाखामा सडक निर्माण गर्दा आफ्नो २२ रोपनी जग्गा पुरिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘असारे विकासले बिचल्ली नै बनायो । भएको सबै जग्गा पुरिएकाले मेरो परिवारको त उठिबास नै लाग्यो । ५० मुरि भन्दा बढि मकै र कोदो, फापर, तोरी, उव्जनी हुने बारीमा अहिले माटो र ढुङ्गाको थुप्रो लागेको छ ।’ ‘हाम्रो जग्गा जमिन भनेकै २२ रोपनी मात्रै हो, अन्यन्त्र कतै छैन,’ उहाँले थप्नुभयो, ‘१८ रोपनी पुर्ण रुपमा छोपिएको छ भने बाँकी जग्गा पनि काम नलाग्ने भएको छ ।’ बर्सेनि झण्डै ९० भारी मकै र बोडी ३० पाथि भन्दा माथि नै भित्र्याउने गरेको सुनाउदै उहाँले माथिबाट सडक खनियो र तल रहेको हाम्रो गरिखाने जग्गालाई बेवास्ता गर्दा आफ्नो सबै परिवार भोकै बस्ने दिन आएको दुःखेसो गर्नुभयो । जग्गा पहिरो जस्तै भएको उहाँको गुनासो छ । गत बर्ष ९ मुरी फापर फलेको सम्झदै उहाँले आफ्नो जग्गालाई स्थानिय सरकारले पहिलाको जस्तै बारीको पाटा बनाएर सम्याइदिए खुसी हुने बताउनुभयो । गाँउपालिकाले २५ हजार राहत स्वरुप दिने आश्वासन दिएको बताउदै जग्गाधनी तमाङले राहत दिनुको साटो आफ्नो बारी सम्याई दिएर पहिलेकै जस्तै बनाई दिए गरिखाने ठाँउ हुने बताउनुभयो । ‘पाएको राहतले एक बर्ष त पालिएला अरु बर्ष के खाने ?’ उहाँको तर्क छ । उक्त वडाका अध्यक्ष शंकर जर्गामगरले सडक निर्माण गर्दा खेतीयोग्य जमिन पुरिएको बताउदै जग्गाधनी तमाङको पुरिएको बारी सम्याइ दिन गाँउपालिकासँग आग्रह गरिएको बताउनुभयो । ‘क्षतिपुर्ति दिने कि सम्याइदिने छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो । विकास पनि चाहिने त्यसबाट हुने क्षती सहन नसक्दा समस्या भई रहेको उहाँको भनाई छ । सबै स्थानमा ट्रयाक सडक खोल्दा प्राविधिक राख्न नसकिने भएकाले विकास गर्दा केही विनास हुने वडाध्यक्ष जर्गामगरले तर्क छ । डोजर चालक नै प्राविधिक बनेर बजेट सक्ने नाममा जथाभावी सडकको ट्रयाक खोल्दा जंगल मासिने र खेतीयोग्य जमिनना क्ष ती हुने गरेको स्थानीय बासिन्दा बताउछन् । वडा अध्यक्ष जर्गामगरका अनुसार भोर्लेनी कोटगाँउ सडक बाग्मती प्रदेश सरकारको ७५ लाख रुपैया लागतमा लकडाउन घोषणा हुनु अघिदेखि स्तरउन्नतीको काम भई रहेको छ । उक्त लागतमध्ये ३३ लाख रुपैयाको टेण्डर भई ठेकेदार मार्फत काम भई रहेको छ भने बाँकी रकम उपभोक्ता समितिमार्फत सडक स्तरउन्नतीको काम भई रहेको छ । उपभोक्ता समितिले गरेको कामले तामाङको जग्गा पुरिएको हो । अहिले उक्त सडक निर्माणको काम ८० प्रतिशत सकिएको र बाँकी काम यहि असार महिनाभित्र सक्ने घर धमाधम भई रहेको उहाँले सुनाउनुभयो । सडक बनाउदाको माटो व्यवस्थित ठाँउमा नफाल्दा सडकले जिल्लाका कयौ किसानको खेतीयोग्य जमिन भिरालो र पहिरो बनाएको स्थानीयको गुनासो छ । एक्स्काभेटर चालकनै इन्जिनियर बनेर खनेका अधिकांश सडक मुनीका खेतीयोग्य जमिन पुरिएका छन् । सडक निर्माण गर्दा नाला नबनाइ पाखो भत्काउदा खेतीयोग्य जमिन मात्रै पुरिएका छैन, बीपी राजमार्ग समेत धरापमा परेको गोलन्जोर गाँउपालिका–५ रतनचुरा निवासी शिक्षक लेखबहादुर बस्नेत बताउनुहुन्छ ।

प्रतिक्रिया