शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका सामुदायिक विद्यालयमा स्कूल बसको व्यवस्था

बिहिवार , आषाढ १८, २०७७

सिन्धुली,१८ असार – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नीजि विद्यालयको पठनपाठन कार्यसँग प्रतिस्पर्धा गराउन सामुदायिक विद्यालयमा स्कूल वसको व्यवस्था सुरु गरेको छ ।

यो बर्षदेखि गाँउपालिकाका सात वटै वडाभित्र रहेका सबै माध्यमिक तहको विद्यालयमा स्कूल बसको व्यवस्था गर्न थालिएको गाँउपालिकाले जनाएको छ । गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार सोही योजना अन्तर्गत गाँउपालिका आफैले खरिद गरि यो बर्ष वडा नं. ७ स्थित जनज्योती मावि खुर्कोटलाई स्कूल बस दिईएको छ ।

सामुदायिक विद्यालयको पढाईलाई नीजि विद्यालयसँग प्रतिस्पर्धि बनाई उत्पादनमुखि जनशक्ति तयार गर्न स्कूल बसको व्यवस्था गरिएको उहाँले बताउनुभयो । विद्यार्थीहरुले सहज किसिमले गुणस्तरिय शिक्षा पाउन् भन्ने उद्देश्यले गाउँपालिका अन्तर्गत सबै माध्यमिक विद्यालयहरुलाई स्कूल बस दिन सुरु गरिएको उहाँको भनाई छ ।

“शैक्षिक क्षेत्रको विकास नभई देश समृद्ध हुन सक्दैन,” उहाँले भन्नुभयो, “त्यसैले स्थानीय सरकार, प्रदेश सरकार र सङघिय सरकारले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिनु पर्छ ।” उहाँका अनुसार गोलन्जोर गाँउपालिका भरिमा नौ वटा सामुदायिक माध्यमिक विद्यालय रहेका छन् । गाँउपालिकाले उपलब्ध गराईको स्कूल बसको ईन्धन भने विद्यालय स्वयंमले व्यवस्था गर्नु पर्ने छ ।

चालक र सहचालकको तलब भत्ता र बसको मर्मत खर्च भने गाँउपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।

जनज्योती मावि खुर्कोटमा यतिखेर ५४६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले बस पाएसँगै डेढ÷दुई घण्टा टाढादेखि पैदल हिडेर पढ्न आउनु पर्ने बाध्यताबाट विद्यार्थीले मुक्ति पाएका विद्यालयका प्रधानाध्यापक शत्रुधन यादबले जानकारी दिनुभयो । उहाँको अनुसार उक्त विद्यालयमा हैबार, बारा, सुँगुरे, रामेछापको सेलेघाट लगायतका ठाँउबाट विद्यार्थी अध्ययन गर्न आउने गर्दछन् ।

गाउँपालिकाले स्कुलबस प्रदान गरेपछि विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा सहज हुनुका साथै पैदल हिड्नु पर्ने बाध्यता हटेको उहाँको भनाई छ । विद्यालयमा बसको व्यवस्था भएपछि विद्यार्थिलाई सजिलो हुने अपेक्षा गरिएको छ । बस सेवा प्रयोग गरेबापत विद्यालयले विद्यार्थीबाट सामान्य शुल्क लिने छ ।

विद्यालयमा बसको व्यवस्था भएपछि विद्यार्थी नियमित विद्यालय आउने,समयमा नै विद्यालय आइपुग्ने प्रधानाध्यापक यादवले बताउनुभयो । विद्यार्थी पढाइ छाडेर बीचमा नै भाग्ने प्रवृत्तिमा समेत कमी आउने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया