शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा उचित सदुपयोग विहिन बाँस

बिहिवार , आषाढ १८, २०७७

सिन्धुली,१८ असार – सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा प्रशस्त पाईने बनस्पती बाँस सिप र प्रविधिको अभावमा स्थानीय कृषकले यसबाट उचित लाभ लिन सकिरहेका छैनन् ।

आफ्नो गुजराका लागि बाँस आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने कुरा थाहा भएर पनि प्रविधि र सीपको अभावमा बाँसलाई दाउराको रुपमा नै प्रयोग गर्दै आएको सम्बन्धित कृषकहरुको गुनासो पाईन्छ । बेरोजगार व्यक्तिलाई सीप र प्रविधि सिकाई बाँसको उचित सदुपयोग गराउनेतर्फ न त सरकारी निकायको नै हालसम्म ध्यान पुग्न सकेको छ, न त अन्य सामाजिक संघ संस्थाको ।

बाँसबाट बहुमूल्य र आकर्षक सामग्री निर्माण गरि आय आर्जन गर्न सकिने भएपनि आफुले घरेलु रुपमा प्रयोग हुने डोको र घुम मात्रै बुन्न जानेको सुनकोसी गाँउपालिका–७ मझुवा निवासी बिरबहादुर मगरको भनाई छ । ‘उक्त सिप पनि गाँउघरमा अर्काले गरेको देखेर नै जानेको हुँ, कहि कतै गएर तालिम लिएको छैन’ उहाँले भन्नुभयो । आफुले उत्पादन गर्ने गरेको डोको र घुम गाँउ घरमा नै खाद्यान्नमा साटेर जीविका चलाउदै आएको मगरको भनाई छ ।

हाल गाँउ घरमा रहेका बाँस दाउरा बालेर, सुकेर र माग्नेलाई दिएर नै सकिने गरेको स्थानीय बासिन्दा बताउछन् । बाँसबाट नयाँ–नयाँ समान् बनाउने चाहना केही युवामा भएपनि त्यसतर्फ कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।

बाँसबाट फ्रेम, घडी, कलमदानी, ब्याग र घर सजावटका सामान् बनाई बिक्रि गरेर राम्रो आय आर्जन गर्न सकिने सोही कमलामाई नगरपालिका –३ निवासी खिलराज सिग्देल बताउनुहुन्छ । “पाखाभरी बाँस छ, तर प्रयोग गर्ने सिप छैन’, उहाँले भन्नुभयो, ‘गाँउमा रहेका बेरोजगार व्यक्तिलाई उनीहरुको चाहना बुझेर त्यस्ता आधुनिक सामान् बनाउने तालिम उपलब्ध गराउन सके यसले रोजगारीमा समेत धेरै टेवा पु¥याउछ ।”

गाँउमा नै रोजगारिको अबसर प्रदान गर्ने बनस्पति बाँसलाई सिपको अभावमा उचित सदुपयोग गर्न नसक्दा निम्न आय भएका व्यक्तिहरु रोजगारी खोज्दै देशका विभिन्न सहर र विदेश धाउनु परेको त्यसक्षेत्रका बुद्धिजीबिहरु बताउछन् । त्यसो त नेपालमा हाल ४० प्रजातिको बाँस रहेको बताईएको छ । बाँसको उचित प्रयोगका लागि जनचेतना र प्रविधिको आवश्यकता रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ सिन्धुलीका पूर्वअध्यक्ष नेत्रहरी भण्डारीले बताउनुभयो ।

भू–क्षय नियन्त्रण गर्न र गाई बस्तुलाई घाँसको व्यवस्था गरि आफ्नो आवश्यकता टार्न जिल्लामा बाँस खेती हुने गरेको अध्यक्ष भण्डारीको भनाई छ । उहाँका अनुसार बाँसबाट उचित फाईदा लिन नसकेकाले सम्बन्धित कृषकले त्यसको संरक्षण र प्रबद्र्धनमा खासै चासो दिएको पाईदैन । घाँसका लागि हुने जथाभावी फडानीले पनि त्यसको संरक्षणमा समेत ठूलो समस्या देखिएको छ ।

प्रतिक्रिया