सिन्धुली,१७ लसार – कोरोना म हामारीपछि बन्द रहेका देशभरका निजी स्कुलहरुले बिद्यार्थीसँग फि लिने–नलिने विषयमा बहस चलिरहेको छ । धेरैजसो विद्यार्थी संगठनले बन्दले पढ्न नपाएका विद्यार्थीको ट्युसन फि नतिर्न अभिभावकलाई आग्रह गरिरहेका छन् ।
निजी विद्यालयहरुले फि नलिइ कसरी तलब खुवाउने भनेर प्रश्न गरिरहेका छन । यस्तो अवस्थामा देशका ९० प्रतिशतभन्दा बढी निजी विद्यालयमा आवद्ध शिक्षक र कर्मचारीले तलब खान पाएका छैनन । तलब नपाएर अहिले सबैभन्दा बढी कर्मचारी र शिक्षकमा अन्यौलता रहेको छ ।
सिन्धुलीका एउटा निजी बिद्यालयले भने आफ्ना शिक्षक र कर्मचारीलाई कोरोनामा राहत पुगोस भनेर ऋण गरेर नै भएपनि पेश्की दिएका छन् । तलब खुवाउने नखुवाउने अन्यौलताका बीच सिन्धुलीको निजी क्षेत्रको भगवती आवासिय मा.बि ले शिक्षक र कर्मचारीलाई पेश्की दिएको हो ।
व्यवस्थापक रमाकान्त सुबेदीले भन्नु भयो, “तलवमै मात्रै आश्रित हाम्रा कर्मचारी साथीहरुलाई समस्या नपरोस भनेर पेश्की दिएका हौ ।” भगवतीमा शिक्षक, कर्मचारी र अन्य सहयोगी गरेर ७१ जना कार्यरत छन् ।
पेश्की स्वरुपम भगवतीले २१ लाख ३६ हजार वितरण गरेको छ । पेश्की पाएपछि स्कुलका शिक्षक र कर्मचारी खुशी भएका छन । भगवतीका शिक्षक अमर भुजेलले सामाजिक संजालमा लेख्नु भएको छ, “हामीसँग धन नभए पनि मन छ । एकले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने संस्कार छ । अनि बाच्नु र बचाउनुपर्छ भन्ने धर्म छ ।”
शिक्षक दिपेन्द्र थापाले पैसा पाएपछि खुशी हुँदै कमेन्टमा लेख्नु भएको छ , “कोभिड १९ ले सिथिल बनाएको समयमा बैशाख र जेठ महिनाको तलब पाउँदा भगवतीप्रति कृतज्ञ छु ।”