सिन्धुली,१६ असार – कमलामाई नगरपालिका २ को चियाबारी, सिमबारी, लामिस्वारा, मुडेखर्क, खुर्सानी डाँडा, खोपीखर्क, कनपा ८ को माइस्थान, करकरे र कमलामाई नगरपालिका १० को भिमान तथा भडार क्षेत्रमा शनिबार बेलुकी देखिएको सलह मरिण गाउपालिकामा पनि भेटिएको छ ।
मरिण गाउँपालिका वडा नं.२,४ लगाएतका वडाहरुको विभिन्न क्षेत्रमा सलह किरा भेटिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
शनिबार साँझदेखि नै सलह आएको हल्ला भए पनि आइतबार त्यस क्षेत्रमा सलह भेटिएको प्रमाणित भएको उहाँको भनाइ छ । मरिणमा हुल बाँधेर नै आएको त होइन तर एक–दुई वटा देखिए पनि सजग हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन गाउँपालिका लागिपरेको उहाँले बताउनुभयो । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि विषादी छर्कने लगायतका योजना गाउँपालिकाले बनाइरहेको उहाँको भनाइ छ ।
खेती बढी हुने ठाँउमा सलह जाने भएकोले किसानहरुसँग जानकारी लिइरहेको उहाँले बताउनुभयो ।