सिन्धुली,१५ असार– कमलामाई नगरपालिकाले धान दिवसका अवसरमा १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
कृषि यन्त्रीकीकरण कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिकाले १४ वटै वडाका कृषक समुह सहकारीमा आबद्ध कृषकहरुबाट आवेदन माग गरेर छनोट गरी १० जनालाई ७ हर्स पावर क्षमताको डिजेलबाट चल्ने मिनी टिलर हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक देवी प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
टेन्डर प्रक्रियामा खरिद गरिएको ट्याक्टरको कुल मुल्य ५८ हजार ५ सय परेकोमा नगरको ५० प्रतिशत अनुदान २९ हजार २५० र किसानको २९ हजार २५० रुपैया लागत लागेको उहाँले बताउनुभयो ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले उक्त ट्याक्टर किसालनाई हस्तान्तरण गर्नुभएको हो ।
परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्न ट्याक्टर वितरण गरिएको कमलामाई नगरपालिकाका प्रमुख खत्रीले बताउनुभयो । नगरपालिकाले कृषि क्षेत्रलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आगामी वर्ष कृषि क्षेत्रमा विशेष बजेटको व्यवस्था गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले नगरपालिकाले किसानलाई हाते ट्याक्टर (मिनीटिलर) प्रदान गरेको उहाँको भनाई छ ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको उहाँले बताउनुभयो । “गाउँमा गोरु पाल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे पनि छैनन्,” उहाँले भन्नुभयो, “कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौँ ।” कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको प्रमुख खत्रीले बताउनुभयो ।