शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका स्थानीय तहमा बढेन कर

आइतवार , आषाढ १४, २०७७

सिन्धुली,१४ असार – सिन्धुलीको कमलामाई नगरपालिकाले आगामी भदौसम्म व्यवसाय कर बुझाउने व्यापारीहरुलाइ २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा साना तथा ठुला व्यापारीहरुलाइ व्यवसाय कर छुटको व्यवस्था गरेको हो । घरभाडा छुट दिनेलाइ करपनि छुट दिने व्यवस्था गरिएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताउनुभयो । कोभिड १९ का कारण सबैक्षेत्र धरासायी बनेकाले सबैखाले करमा चालु आवको भन्दा वृद्धि नगरेको नगरपालिकाले जनाएको छ । सक्ने जति छुट दिइएको र करशुल्क नबढाएको पनि नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

“जनताले तिरेको कर नगर विकासको आधार” भन्ने नारा तय गरि कर, दस्तुर, शुल्क र अन्य गरी आगामी आवका लागि आन्तरिक श्रोतबाट चार करोड ८५ लाख संकलन गर्ने कमलामाई नगरपालिकाको लक्ष्य छ । सम्पती कर पुष मसान्तसम्म बुझाउनेलाइ १० प्रतिशत छुट, सदरमुकाम सिन्धुलीमाढीमा औद्योगिक ग्राम स्थापनार्थ, जुनसुकै उद्योग खोलेपनि जग्गाको व्यवस्था र कर नलिने कमलामाइले नीति तथा कार्यक्रममा घोषणा गरेको छ ।

अर्को दुधौली नगरपालिकाले करको दर नबढाएको र जरिवाना हटाएको जनाएको छ । नगरपालिकाका प्रवक्ता रितेश राउतले कर, शुल्क र दस्तुर बुझाउनको लागि समयसिमा नतोकिएकाले त्यो नै छुट हुने बताउनुभयो । मरिण, फिक्कल, तीनपाटन, घ्याङलेख, हरिहरपुगढी, सुनकोशी, र गोलन्जोर गाउँपालिकाले चालु आवकै करको दर कायम गरेका छन् । गोलन्जोर गाउ“पालिकाले जुनारको कर छुट दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया