कमलामाई नगरपालिका १३ र १४ मा योजना अनुगमन । तस्विर : अनिल भण्डारी
सिन्धुली,१४ असार – आर्थिक बर्षको अन्त्य हुनै लाग्दा यहाँको कमलामाई नगरपालिकाले योजना अनुगमनलाई तिब्रता दिएको छ । योजनाको अनुगमन पश्चात भुक्तानी दिने नगरपालिकाको नियमअनुसार हाल धमाधम योजना अनुगमन गर्न नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा प्रत्येक योजनामा पुग्न थाल्नु भएको छ ।
योजना अधुरो हुदै अनुगमन गरेमा योजनाको राम्रो काम नहुने भएकाले योजना सम्पन्न भएपछि प्रत्येक योजनाको अनुगमन गरेर भुक्तानी दिने गरिएको उपप्रमुख देवकोटाले बताउनु भयो । योजनाको अनुगमन वितगका बर्षको तुलनामा यस बर्ष कडाईका साथ हेरिएको छ । योजनाको गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै गुणस्तरिय काम गर्न उपभोक्ता समितिलाई नगरपालिकाले सुझाएको समेत छ ।
जिल्लाको कमलामाई नगरपालिका १४ मा निर्माण भएको सडकको नाला अनुगमन गर्दा गल गैचि प्रयोग गरि नालाको ढलानको अवस्था बुझ्दा स्थानिय समेत चकित परेका छन् । योजना अनुगमनमा कडाई गरिएसँगै उपभोक्ता समिति र ठेकेदारबाट राम्रो काम हुने अपेक्षा स्थानियले समेत गरेका छन् ।

अघिल्ला अर्थिक वर्षमा अनुगमनमा खासै कडाई नगरेको कमलामाईले यस वर्षदेखी निर्माण सामाग्रीको प्रयोग मात्रै होइन लागत स्टिमेट अनुसारको काम भएको छ कि छैन भन्दै गैंची, गल र हम्मर प्रयोगगर्दै हेर्न थालेपछि कतै हाम्रो योजना पनि पास नहुने हो कि ? भन्ने कुराले ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीहरु त्रसित बन्न थालेको देखिएको हो । कमलामाई नगरपालिका वडा नं. १४ स्थित नर्सरीदेखी खिरखिरे हुँदै १४ नं. वडा कार्यालयसम्म जाने बाटो निर्माणमा कमलामाई नगरपालिकाले १० लाख रुपैयाँ रकम बिनियोजन गरेको थियो ।
उपप्रमुख देवकोटाको नेतृत्वमा भएको अनुगमनमा उक्त बाटोको अनुगमन गर्ने क्रममा अनुगमन गर्न उप्रमुख देवकोटासँगै गएका इन्जिनियर आस्तिक बरालले सडक निर्माणको स्टिमेटको बिबरणहेर्दै नापजाँच गर्नुका साथै गलले फुटाएर नाला हेरेका थिए । बाहिर हेर्दा राम्रो देखेर मात्रै हुदैन योजनको स्टमेट अनुसार भएको छ की छैन भनेर हामीले फुटाएर हेरेका हौ, इन्जिनियर बरालले भन्नु भयो “उक्त बाटोको ढलान, वाल सबै गुणस्तरिय छ, इस्टमेट अनुसारनै देखिएको छ ।”
दैनिक अनुगमनमा खटिनु भएका उपप्रमुख देवकोटाले आफुले यति राम्रो निर्माण अहिलेसम्म कतैपनि नदेखेको भन्दै योजनामा गुणस्तरिय काम भएको बताउनु भयो । “ यहाँ १ सय मिटर भन्दाबढी बाटो निर्माण गरेर उदाहरणीय काम गरेका छन् । क्वालिटी र कहिंकतै केही भन्ने ठाउँनैं छैन, क्वान्टीटीमा त स्थानीयले सबैलाई उदाहरणीय बनेर देखाईदिए,” उहाँले भन्नु भयो । यस क्षेत्रमा दनुवार समुदायको उपभोक्ता समिति बनेर भएको काम उदारणिय रहेको अनुगमन समितिको ठहर थियो ।

यस्तै वडा नं. १४ कै जनता मावि देखि विहाडेटोल सम्म निर्माण भएको सडक समेत गुणस्तरिय देखिएको छ । १० लाख लागतको सडक उदारणिय देखिएको छ । अनुगमनका क्रममा वडा नं. १३ को बयरबन सडक, इनारको अनुगमन गरिएको छ ।
यस्तै कमलामाई नगरपालिका ११ मा समेत योजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा योजनामा होडिङ बोर्ड राख्न समेत सुझाव दिइएको थियो । योजनाको इस्टमेट अनुसार सबै उपभोक्ता समितिले गुणस्तरिय काम गर्नुपर्छ जति काम उति भोक्तानी हुन्छ उपप्रमुख देवकोटाले भन्नु भयो, “गुणस्तरिय काम नगर्नेलाई भुक्तानी समेत रोक्छौ ।”